विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँ : सांसद श्रेष्ठ

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद श्रेष्ठले विद्यालय तालाबन्दी रोक्न कानूनी व्यवस्था आवश्यक रहेको बताएकी छन्।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Put a provision in the bill that schools and universities cannot be closed for any reason: MP Shrestha

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। बुधबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा बोल्दै उनले विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न वा बन्द गर्न नपाउने कुरा विधेयकमै लेखिनुपर्ने बताएकी हुन् ।

शिक्षकहरूको हकमा बन्द हडताल गर्न नपाउने भनेर विधेयकमा उल्लेख भएकोप्रति ध्यानाकर्षण गराउँदै उनले सो व्यवस्था निजी विद्यालयका लागि पनि लेखिनुपर्ने बताएकी छन्।

उनले भनिन्, 'विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने भन्ने कुरा अन्त्य हुनुपर्छ। विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी वा बन्द गर्न पाउँदैन। विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले पनि गर्न पाउँदैन, जुनसुकै कारण भए पनि। त्यो कुरा हामीले शिक्षकहरूको हकमा बन्द हडताल गर्न नपाउने भनेर लेखेका छौँ। तर त्यो कुरा निजी विद्यालयका लागि पनि लेखिनुपर्नेछ। विद्यालयहरू कुनै पनि बहानामा बन्द गरिनु हुँदैन।'

सांसद श्रेष्ठले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्ने पनि बताइन्।

कान्तिपुर

Link copied successfully