सरुवा अस्वीकार गर्दै कमलामाईका दुई शिक्षक अनशनमा 

शिक्षक संघ संगठनका प्रतिनिधिहरुसहित बसेको नगर शिक्षा समितिको बैठकले नियमानुसार सरुवा गरेकाले अनशन छाडेर सम्बन्धित विद्यालयमा हाजिर हुन शिक्षा शाखा प्रमुख नवराज बरालले उनीहरुलाई सुझाएका छन् ।

श्रावण २३, २०८२

राजकुमार कार्की

Two teachers of Kamalamai on hunger strike, refusing transfer

What you should know

सिन्धुली — साताअघि कमलामाइ नगरपालिका शिक्षा समितिले १५ जना शिक्षकको सरुवा गर्‍यो । १३ जना शिक्षक रमाना लिएर तोकिएको विद्यालयमा हाजिर भैसकेका छन् ।

साताअघि कमलामाइ नगरपालिका शिक्षा समितिले १५ जना शिक्षकको सरुवा गर्‍यो । १३ जना शिक्षक रमाना लिएर तोकिएको विद्यालयमा हाजिर भैसकेका छन् । दुई शिक्षक भने अपमानजन सरुवा भनेर तीनदिनदेखि सदरमुकाममा रहेको गौमती नमुना माविको हाताभित्र रिले अनशनमा छन् । रिले अनशन बस्ने शिक्षकहरु हुन् विष्णुप्रसाद फुयाँल र शंकरप्रसाद ढकाल । उनीहरुको गौमती माविबाट सदरमुकाममै रहेको कमला र जनज्योति माविमा सरुवा भएको थियो । 

शिक्षा समितिले शिक्षक महासंघ सिन्धुलीका अध्यक्षसमेत रहेका फुयाँलको आफैंले अध्ययन गरेको विद्यालय कमला मावि ढुंग्रेबासमा सरुवा गरेको थियो । ११ वर्षदेखि गौमतीमा अध्यापन गराइरहेका फुयाँल कमला मावि घर पायक पनि हो । आफू शिक्षक महासंघको अध्यक्ष रहेको र एकवचन सोध्दा पनि नसोधी सरुवा गरेकाले हिनताबोध भइ न्यायका लागि अनशन सुरु गरिएको फुयाँलको भनाइ छ । गौमती माविका शिक्षकसँग प्रतिशोध साँधिएको, विद्यालयमा भएको ब्यथितीको अन्त्य र विद्यालय व्यवस्थापन समितिबाट डर, त्रास र धम्की अन्त्य भइ स्वच्छ शैक्षिक वातावरण हुनुपर्ने माग दुई शिक्षकको छ । उनीहरुको अनशनलाई शिक्षकका संघ, संगठनले आधिकारिक समर्थन भने गरेका छैनन् । विद्यालयमा भएको व्याप्त अनियमितता र स्वेच्छारिताको अन्त्यका लागि आवाज उठाउँदा आफू सरुवाको कोपभाजनमा परेको शिक्षक फुँयालको आरोप छ । 

गौमती नमुना माविमा चरम अनियमितता र ब्यथिती रहेको र त्यसको अन्त्य नभएसम्म सरुवा भएको विद्यालयमा नजाने ढकालको अडान छ । 

शिक्षक संघ संगठनका प्रतिनिधिहरुसहित बसेको नगर शिक्षा समितिको बैठकले नियमानुसार सरुवा गरेकाले अनशन छाडेर सम्बन्धित विद्यालयमा हाजिर हुन शिक्षा शाखा प्रमुख नवराज बरालले उनीहरुलाई सुझाएका छन् । 

नगरप्रमुख उपेन्द्र पोखरेलले कुनै शिक्षकलाई पनि भेद्भाव गरेर सरुवा नगररिएको जिकिर गरे ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully