काठमाडौँ — विद्यार्थी मैत्री शिक्षा ऐन र स्ववियु निर्वाचनबारे १२ विद्यार्थी संगठनको संयुक्त बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
अनामनगरस्थित नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा नेपालका प्रमुख विद्यार्थी संगठनहरूको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा १२ प्रमुख विद्यार्थी संगठनका अध्यक्ष, संयोजक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा शिक्षा क्षेत्रसँग सम्बन्धित विविध समसामयिक विषयमा गहन छलफल गर्दै साझा धारणा निर्माण गरिएको थियो । विशेषतः विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन सुनिश्चित गर्न चरणबद्ध अभियान सञ्चालन गर्नुपर्ने विषयमा बैठकले स्पष्ट निष्कर्ष निकालेको छ ।
साथै, विद्यार्थी हित र अधिकार संरक्षणका लागि निकट भविष्यमै आवश्यक सहकार्य, संघर्ष तथा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता सहित बैठक सम्पन्न भएको छ सभापति शेर्पाले बताए ।
