काठमाडौँ — त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले शैक्षिक वर्ष २०८२/०८३ मा ४ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।
विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, निलगिरी कलेज सुनसरी र नागरिक कलेज नपलपरासीमा फुड टेक्नोलोजी विषयमा विद्यार्थी भर्ना गर्न नदिने डिन कार्यालयले जनाएको छ । यी कलेजले शैक्षिक वर्ष ०८१/०८२ मा नियमविपरीत प्रवेश परीक्षामा सहभागी नभएका विद्यार्थीलाई आफूखुसी भर्ना गरेको भन्दै कारबाही गरिएको हो ।
अध्ययन संस्थानको विद्या परिषद् स्थायी समितिले बैठकले सम्बन्धन प्राप्त गरी निजीस्तरमा सञ्चालित कलेजमा भर्ना रोकिएको डिन कार्यालयको भनाइ छ । उक्त विषयमा प्रवेश परीक्षा सञ्चालित गरी मेरिटको आधारमा मात्र विद्यार्थी भर्ना गर्ने व्यवस्था छ । यी कलेजले त्रिवि नियमविपरीत संस्थानले सञ्चालन गरेको परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई भर्ना गरी नियमको अवज्ञा गरेको डिन कार्यालयले जनाएको छ ।
