What you should know
तनहुँ — जिल्लाको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १८ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ । आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न १८ लाख ४८ हजार ५ सय रुपैयाँ छात्रवृत्ति रकम वितरण गरेको हो ।
नगरपालिकाले २०६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गरेर उच्च शिक्षा हासिल गर्ने वातावरण बनाएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । उनले भने, ‘नगरपालिकाले कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई ११ हजार रुपैयाँका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जा विद्यार्थीलाई ८ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ ।’
आर्थिक अवस्था कमजोर भएका कारणले कोही विद्यार्थी पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भनी नगरपालिकाले बर्सेनि ठूलो रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
यस्तै, कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक, निवृत्त शिक्षक गरी ४९ र १२ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा अन्तरविद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
संघीय शिक्षण सिकाइ सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको २३ कोटामा विषयगत शिक्षक पदपूर्ति गरिएको र प्रसूति बिदामा रहेका १३ शिक्षकको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सञ्चालन गरिएको उनले बताए ।
नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ भने शैक्षिक क्यालेन्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
