What you should know
काठमाडौँ — नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्र सुधारका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र इटिएच ज्युरिकको सहकार्यमा 'आईल्याब' को तेस्रो संस्करण सुरु भएको छ।
स्वीस विकास सहयोग नियोग (एसडीसी)को प्राविधिक सहयोगमा सन् २०२३ देखि सुरु गरिएको यो कार्यक्रमले नीतिगत तथा व्यावहारिक चुनौती पहिचान गरी कार्यान्वयनमा जोड दिने उद्देश्य लिएको छ।
ललितपुरको गोदावरीमा शुक्रबार आयोजित उद्घाटन समारोहमा उपकुलपति प्रा.डा. अच्युत वाग्लेले श्रमलाई सम्मान गर्ने संस्कारले मात्र समृद्धि सम्भव हुने बताए । कुसोड डीन प्रा.डा. बालचन्द्र लुईंटेलले ‘पढ्दै कमाउँदै’ नारालाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे ।
कार्यक्रममा आईल्याबका प्रमुख अनुसन्धानकर्ता प्रा.डा. महेशनाथ पराजुलीले छलफल मात्र होइन, काम गरेर देखाउने मञ्चका रूपमा आईल्याब विकास गरिएको बताए । एसडीसीका कार्यक्रम अधिकृत पंकज पराजुलीले स्थानीय तहमा टिभेट प्रभावकारिता बढाउन आईल्याब उपयोगी बन्दै गएको उल्लेख गरे।
शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले स्वदेशी श्रमशक्तिलाई सीपयुक्त बनाउन टिभेट प्रणाली सुदृढ गर्नुपर्ने बताए। सीटीईभीटी निर्देशक प्रमोदभक्त आचार्यले औद्योगिक प्रशिक्षार्थी अवधारणालाई प्राथमिकता दिइएको जानकारी गराए।
गोकर्णेश्वर नगरप्रमुख दीपक रिसालले उद्यमशीलता प्रवर्द्धन गर्न ‘मिसन रोजगारी’ कार्यक्रम लागू गरिएको बताए। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यले उत्पादन वृद्धि असफल हुनुमा व्यावहारिक शिक्षालाई कम प्राथमिकता दिइएको कारण देखाइन्।
आईल्याब अन्तर्गत ६–८ सदस्यीय समूहले प्रतिस्पर्धा गरी उत्कृष्ट योजना कार्यान्वयनमा ल्याइनेछ। कार्यक्रमले नीति र अभ्यासबीचको खाडल चिर्ने अपेक्षा गरिएको छ।
