What you should know
काठमाडौँ — नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भेट गरेका छन्। भेटमा इजरायलमा नेपाली कृषि विद्यार्थीका लागि इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ।
त्यस अवसरमा मन्त्री पन्तले इजरायलले विगतदेखि हालसम्म नेपालप्रति विभिन्न चरणमा गरेको सहयोगको प्रशंसा गरे । राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको परियोजनाबारे जानकारी गराएका थिए।
उक्त कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी नेपाली कृषि विद्यार्थी इजरायलमा गई कृषिसम्बन्धी अनुभव हासिल गर्न सफल भएका छन् भने केहीले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदानसमेत पुर्याएका छन्।
सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि नेपाली विद्यार्थीलाई इजरायल जान रोक लगाइएको थियो। यदि यो प्रक्रियागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउन सक्ने करिब एक हजार कृषि इन्टर्नले अवसर गुमाउने राजदूत बासको भनाइ थियो।
उनले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयमा विद्यार्थीलाई समयमै दर्ता गर्न र इजरायल जान दिनका लागि निर्देशन दिई सहयोग गरिदिन आग्रह गरे ।
यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नसिपमा जाने विद्यार्थीको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले अभाव पूर्ति गर्न आगामी वर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ। इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाबारे प्राप्त दुई सकारात्मक प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले इजरायलको सुरक्षा अवस्था सामान्य भइसकेकाले इजरायल जाने प्रक्रिया पूर्ववत् रूपमा निरन्तरता दिन सूचना जारी गरिसकेको छ।
विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीलाई जानकारी दिन र विश्वविद्यालयसँग समन्वय गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरिएको छ। उक्त अवसरमा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी थिए।
