तिलोत्तमामा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालनका लागि अनुमति

असार २७, २०८२

सन्जु पौडेल

Permission to operate Diploma in Pharmacy and PCL Nursing in Tilottama

तिलोत्तमा — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पालिकाको गुरुयोजनाको रुपमा राखेको सिटि कलेजको पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सीटीईभीटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०/ ४० जनाको कोटासमेत निर्धारण गरेको छ । सीटीईभीटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।

पालिकाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल अर्थात् भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाले आव २०८२।८३ को नीति तथा कार्यक्रम र बजेटमै प्राविधिक शिक्षालय संचालनका लागि नीति गत रुपमा निर्णय गर्दै रकम विनियोजन गरेको बताए । 

नगर प्रमुख खाणले सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनको विषयले सार्थकता पाउनु सबैका लागि खुशी र यस क्षेत्रका लागि गौरवको विषय भएको बताए ।

सीटीईभीटीको असार १७ को २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणका लागि मनाशयपत्र दिई आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार सीटीईभीटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमै वडा नं. १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ । 

नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर आधारभूत विद्यालय रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully