खुला प्रतिस्पर्धाबाट मेरिटका आधारमा उपकुलपति नियुक्त गर्न थालिएको अभ्यास तोड्दै शिक्षामन्त्री पन्तले राजनीतिक भागबन्डाका आधारमा सुटुक्क तीन जनाको नाम सिफारिस गरेका थिए
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले जलवायु विज्ञान विषयका प्राध्यापक अर्याललाई त्रिविको २१ औं उपकुलपतिमा बुधबार नियुक्त गरेका हुन् । अर्यालले कुलपति ओलीसँग शपथ लिएर पदबहालीसमेत गरेका छन् ।
उपकुलपति अर्याल जल तथा मौसम विज्ञान विभागका पूर्वप्रमुख हुन् । उनले मौसम विज्ञानमा त्रिविबाटै विद्यावारिधि गरेका हुन् भने वायुमण्डलीय विज्ञानमा जापानको नागोया विश्वविद्यालयमा स्नातकोत्तर गरेका छन् । काठमाडौं जोरपाटीका उनी प्रसिद्ध हास्यव्यंग्यकार भैरव अर्यालका छोरा हुन् ।
अर्यालको नियुक्तिसँगै त्रिविले ३ महिनापछि नेृतत्व पाएको छ । तत्कालीन उपकुलपति केशरजंग बरालले कुलपति ओलीको हस्तक्षेप र असहयोगको कारण देखाउँदै दिएको राजीनामा २८ चैतमा स्वीकृत भएको थियो । २ वैशाखमा रेक्टर केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
चारवर्षे कार्यकालका लागि अर्याल उपकुलपति बनेपछि केसीलाई रेक्टरकै जिम्मेवारीमा फर्कने बाटो खुलेको छ । निमित्त रेक्टरको जिम्मेवारी मानविकी संकायका डिन द्विविनन्द ढकाललाई तोकिएको थियो ।
शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्त संयोजकत्वको समितिले अर्याल, निमित्त उपकुलपति खड्ग केसी र प्राध्यापक विनिल अर्यालको नाम सोमबार सिफारिस गरेको थियो ।
सिफारिस भएका तीनै जना सत्तारूढ एमालेनिकट प्राध्यापक हुन् । यसअघि अशोक राई, सुमना श्रेष्ठ र विद्या भट्टराई शिक्षामन्त्री हुँदा त्रिविसहितका विश्वविद्यालयमा दरखास्त आह्वान गरी मूल्यांकनबाट मेरिटका आधारमा उपकुलपति सिफारिस र नियुक्त गर्ने अभ्यास गरिएको थियो । राजनीतिक नेतृत्वले राजनीतिक भागबन्डाका आधारमा ‘गोजीबाट सुटुक्क’ प्राज्ञिक नेतृत्व सिफारिस गरेको आलोचना भएपछि मेरिटको अभ्यास थालिएको थियो ।
यस पटक त्रिवि उपकुलपति बन्न शिक्षामन्त्रीको सचिवालयमा एमालेनिकट १२ प्राध्यापकले आवेदन दिएका थिए । शिक्षामन्त्री, एमालेनिकट प्राध्यापक संगठनको आग्रह र आफूखुसी ती आवेदन परेका थिए । राजनीतिक नेतृत्वले ‘गोजीबाट’ प्राज्ञिक नेतृत्व चयन गर्ने पद्धतिको शिक्षाविद्हरूले पनि आलोचना गर्दै आएका छन् । शिक्षा मन्त्रालयले त्रिविसहितका विश्वविद्यालयका लागि जारी गरेको ‘उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि’ मा अनुसन्धान, शिक्षण अनुभव, पुस्तक प्रकाशन, योजना, सोचपत्रको मूल्यांकन गर्नुपर्ने व्यवस्था छ । तर कार्यविधि लत्याएर यस पटक उपकुलपति नियुक्ति गरिएको हो ।
बालुवाटारमा विश्वविद्यालयको सिनेट
कुलपति एवं प्रधानमन्त्री ओलीले त्रिविको वार्षिक दिवस बैठक तथा साधारणसभा (सिनेट) आफ्नै निवास बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णुप्रसाद सुवेदीले त्रिवि उपकुलपतिलाई पत्राचार गरेर बिहीबार बालुवाटारमा सिनेट हुने जानकारी दिएका छन् । पोखरा विश्वविद्यालयको सिनेट पनि बुधबार बालुवाटारमै भएको थियो ।
तीन महिनासम्म उपकुलपति नियुक्ति नगर्ने, प्रधानमन्त्री निवासमा विश्वविद्यालयको बैठक बोलाउने र उपकुलपतिलाई शपथ गराउने ओलीको कदमलाई पूर्वउपकुलपति लगायत प्राध्यापकले आलोचना गर्दै आएका छन् । तर त्यसलाई बेवास्ता गर्दै उनले अधिकांश विश्वविद्यालयको बैठक र उपकुलपतिलाई शपथ बालुवाटारमै गराउँदै आएका छन् ।
यसअघि गत आइतबारका लागि त्रिविको सिनेट तोकिएको थियो । त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक प्रधानमन्त्री ओलीको निर्देशनपछि रोकिएको थियो । त्रिविको वार्षिक सभा तिथिअनुसार हुने गरेको छ । कुलपति एवं प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय गरिएको थियो । त्यो दिन बैठक स्थगन गर्दै ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए ।
पोखरा विश्वविद्यालयको बजेट डेढ अर्ब
पोखरा विश्वविद्यालयको सिनेटले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ । एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित भएको छ ।
उपकुलपति वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सिनेटले शिक्षक कर्मचारीसम्बन्धी नियमावली २०५५, आर्थिक नियमावली २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली २०५७ संशोधनको प्रस्ताव पारित गरेको छ ।
