त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति माओवादीको आपत्ति

असार २४, २०८२

कान्तिपुर संवाददाता

Maoists object to the postponement of the Tribhuvan University Senate meeting

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब बोलाउन ध्यानाकर्षण गराएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौँ युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह गरे।

उनले भने, ‘नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ। यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रूपमा स्थगित गरियो। गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो। तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन्। म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु— टियु सिनेटको बैठक अविलम्ब राखियोस्, शैक्षिक क्यालेन्डर बनाइयोस् र लाखौँ युवाहरूको शैक्षिक गुणस्तर सुधार गर्दै भविष्य सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछु।’

उनले विश्वविद्यालयका तत्कालीन भिसीले सरकारको असहयोगका कारण राजीनामा दिएको भन्ने अनौपचारिक कुराहरू आएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे ।

कान्तिपुर

Link copied successfully