वालिङमा एकीकृत पाठ्यक्रम तालिम

असार १५, २०८२

प्रतीक्षा काफ्ले

Integrated Curriculum Training in Walling

स्याङ्जा — कक्षा १–३ मा अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिम संचालन गरिएको छ । रुम टु रिडको प्राविधिक सहयोगमा स्याङ्जाको वालिङ नगरपालिकाले एकीकृत पाठ्यक्रमसम्बन्धी १० दिने कष्टमाइज्ड तालिम संचालन गरेको हो ।

शिक्षामा गुणात्मक सुधार ल्याउने उद्देश्यले संचालन गरिएको तालिममा नगरभित्र रहेका ६१ वटा सामुदायिक विद्यालयका कक्षा १–३ मा अध्यापन गराउने शिक्षकको सहभागिता रहेको थियो । असार ५ देखि दुई चरणमा तालिम आयोजना गरिएको हो ।

नगर उपप्रमुख कविता तिवारी गैरेले नगरपालिकाले शैक्षिक सुधारका लागि नयाँ कार्यक्रम थप गर्ने योजना अघि सारेको बताइन् । पोसाकमा एकरुपता ल्याउन सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गर्ने, प्रत्येक विद्यालयमा योगाभ्यास संचालन गर्ने र सामुदायिक विद्यालयमा संस्थागतजस्तै शैक्षिक गतिविधि संचालन गर्ने तिवारीले सुनाइन् ।

रुम टुरिड कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै उपप्रमुख तिवारीले आगामी दिनमा कक्षा १–३ का विद्यार्थीले नेपाली मात्र नभई अंग्रेजी विषय पनि स्पष्ट र शुद्ध पढ्ने बानीको विकास गराउने योजना सुनाइन् ।

रुम टु रिडले गत वर्ष वालिङ नगरभित्रका २० सामुदायिक विद्यालयमा कार्यक्रम संचालन गरेको थियो । विद्यार्थीमा पढ्ने बानीको विकास र नेपाली उच्चारण शुद्ध भएको कारण यस वर्ष पनि थप २० विद्यालयमा रुम टु रिडको कार्यक्रम संचालन भएको हो ।

एकीकृत पाठ्यक्रमसम्बन्धी तालिममा रुम टुरिडको प्राविधिक सहयोगले शिक्षकलाई नयाँ शिक्षण विधि, विद्यार्थीको सक्रिय सहभागिता र पाठ्यक्रमको उद्देश्यअनुसार सिकाई रणनीति विकासमा सहयोग पुर्‍याउने शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताइन् ।

प्रतीक्षा

Link copied successfully