विश्वविद्यालय सभामा दुईजना मात्रै स्ववियु सभापति किन ?

असार १२, २०८२

कान्तिपुर संवाददाता

Why are there only two presidents of Swaviyu in the university assembly?

काठमाडौँ — विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनका दुई सभापति मात्रै राखिने विद्यमान प्रणाली त्रुटिपूर्ण रहेको भन्दै त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई पत्राचार गरेका छन् ।

अहिले विश्वविद्यालय सभामा दुई जना मात्रै स्ववियु सभापति राख्ने प्रचलन छ । तर ती दुईजना सभापति कसरी छनौट हुन्छन् र कसरी तिनीहरुले देशभरका सम्पूर्ण स्ववियु सभापतिको प्रतिनिधित्व गर्न सक्छन् भन्ने विषय स्पष्ट छैन । 

अध्यक्ष कोइरालाले विश्वविद्यालय सभामा प्रतिनिधित्व गर्ने दुईजनाको छनौट खुला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचनबाट हुनुपर्ने माग गरेका छन् । उनले त्रिवि विद्यार्थी कल्याण परिषद्मा हुने प्रतिनिधित्वको विषयमा पनि कुनै नियम, छनौट प्रणाली वा कार्यविधि नबनेको भन्दै यसलाइ सच्याउनुपर्ने बताएका छन् । 

विश्वविद्यालय सभामा हुने मनोनयनका विषयमा सभापति कोइरालाले त्रिवि सूचना महाशाखासँग जानकारी मागिएको तर यसबारे कुनै उत्तर नपाएको गुनासो पनि प्रधानमन्त्रीसमक्ष गरेका छन् । कुलपति ओलीलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ, 'त्रिवि सभामा प्रतिनिधित्व हुने जस्तो संवेदनशील कुरामा ‌औपचारिक तथा लोकतान्त्रिक प्रक्रियाको अभाव हुनु गैरजिम्मेवार एवं त्रासद् विषय हो ।' 

सभापति कोइरालाले यस विषयमा कुनै टुंगो नलागेमा स्ववियु सभापतिहरु कानुनी तथा अदालती बाटो अपाउन बाध्य हुने पनि पत्रमा उल्लेख गरेका छन् । 

कान्तिपुर

Link copied successfully