त्रिविमा २ सय ७५ उपप्राध्यापक माग्दा ९१ मात्रै पदपूर्ति

कानुन, सूचना प्रविधि, कम्प्युटर एप्लिकेसन, इतिहास लगायतका विषयमा उत्तीर्ण प्रतिशत शून्य

असार ११, २०८२

कान्तिपुर संवाददाता

Only 91 posts were filled when 275 deputy professors were requested in Trivim

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न सङ्कायअन्तर्गतका विषयमा २ सय ७५ उपप्राध्यापक माग्दा ९१ जना मात्रै स्थायी पदपूर्ति हुने भएका छन् ।

आयोगले सञ्चालन गरेको परीक्षामा समग्रमा ३३ प्रतिशत आवेदक मात्रै उत्तीर्ण भएको प्रशासकीय प्रमुख विष्णु अर्यालले जनाए ।

‘कतिपय विषयमा माग सङ्ख्या भन्दा बढी उम्मेदवारमा पनि पास भएका छन्,’ उनले भने, ‘कतिपय विषयमा माग सङ्ख्याअनुसार लिखित परीक्षामा नै उत्तीर्ण नभएपछि पद रिक्त रहने भएको छ ।’

आयोगले पछिल्लो पटक २ सय ७५ उपप्राध्यापक पदमा विज्ञापन खुलाएको थियो । लोकसेवा आयोगको सहभागितामा सञ्चालित लिखित परीक्षामा ९१ जना उत्तीर्ण भएका हुन् भने १ सय ८४ पद रिक्त जाने भएको छ ।

कानुन, सूचना प्रविधि, कम्प्युटर एप्लिकेसन, इतिहास, खेलविज्ञान, परामर्श मनोविज्ञान, हिन्दी, अर्थशास्त्र शिक्षा, इतिहास शिक्षा, जनसङ्ख्या शिक्षा, मैथिली र विज्ञान शिक्षा विषयमा पास प्रतिशत शून्य रहेको छ ।

सेवा आयोगले उपलब्ध गराएको तथ्याङ्कअनुसार कानुनमा २२ जना उपप्राध्यापक माग गर्दा एक जना पनि पास भएनन् । ३० जना लिखित परीक्षामा सहभागी भएका थिए । इतिहासमा २ जना, कम्प्युटर एप्लिकेशनमा २ जना उपप्राध्यापक माग गर्दा पास सङ्ख्या शून्य रह्यो ।

ठूलो सङ्ख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेका विषयमा पनि आवश्यक सङ्ख्यामा पदपूर्ति हुन सकेको छैन । व्यवस्थापन सङ्कायअन्तर्गत ७५ जना उपप्राध्यापकका लागि विज्ञापन माग्दा ५ जना मात्रै उत्तीर्ण भएको आयोगको तथ्याङ्क छ ।

अंग्रेजी विषयका लागि २५ जना माग्दा ७, अर्थशास्त्रमा १५ जना उपप्राध्यापक माग्दा १२, अंग्रेजी शिक्षामा १४ जना माग्दा १२ जना, समाजशास्त्रमा १२ जना माग्दा ११ जना लिखित परीक्षामा सफल भएका छन् । गणित शिक्षामा ८ जनाका लागि विज्ञापन आह्वान गर्दा २ जना, जनप्रशासनमा ८ पदमध्ये १ पदमा मात्रै, नेपाली शिक्षामा ८ पदमा ३ जना मात्रै उत्तीर्ण भए । सेवा आयोगले २०७७/०७८ मा प्रकाशित विज्ञापनको नतिजा सार्वजनिक गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully