विद्यालय सुधार्ने नेतृत्व स्थानीय तहले लिनु पर्छ : मुख्यमन्त्री सिंह

असार १०, २०८२

सन्तोष सिंह

The local level should take the lead in improving schools: Chief Minister Singh

महोत्तरी — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय तहले विद्यालय तहको शिक्षा अवस्था सुधार्ने नेतृत्व लिनुपर्ने बताएका छन् ।

'मधेशका जनशक्ति अन्य जिल्लाहरुमा शिक्षा, स्वास्थ्य र प्राविधिक क्षेत्रको नेतृत्व गर्थ्यो तर अहिले मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ,' मुख्यमन्त्री सिंहले भने,‘मधेशका जिल्लाहरु असाक्षर छन् । सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र विद्यालयका शिक्षकले जिम्मेवारी पूरा भएको ठान्दा सामुदायिक विद्यालयको शाख संकटमा परेको छ । एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने परम्पराले विद्यालय तहको पढाइ प्रभावित भएको छ ।’ शिक्षक र अभिभावकको लापरबाहीका कारण विद्यालय तहका विद्यार्थी लागूऔषधको दुर्व्यसनमा फसेको मुख्यमन्त्री सिंहले बताए ।

The local level should take the lead in improving schools: Chief Minister Singh

महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभामालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले शिक्षा सुधार हुने स्थानीय तह धनी साबित हुने बताए । 'विद्यालयको शिक्षा सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ,' उनले भने, ‘विद्यालयको शिक्षा स्तर र विद्यालय तहमै फैलिएको लागूऔषधको दुर्व्यसनलाई सामाजिक रुपमै सुधार्नुपर्ने समय आएको छ ।’ मधेश प्रदेशका निजी विद्यालयहरु विद्यार्थीको क्षमता बढाउनुभन्दा पनि पढेको प्रमाणपत्र मात्रै उपलब्ध गराउन सीमित भएको टिप्पणी गरे ।

सामुदायिक विद्यालयको पढाई र निजी विद्यालयको वैधता विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले अनुगमन गर्नुपर्नेमा सिंहले जोड दिए । औरही नगरपालिकाको नगरसभामा नगर प्रमुख प्रदीपकुमार खड्काले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजार बजेट प्रस्तुत गरेका छन् । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully