मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू

असार ९, २०८२

कान्तिपुर संवाददाता

'Our Happy Course' implemented in Madhyabindu Municipality

काठमाडौँ — पूर्वी नवलपरासीस्थित मध्यविन्दु नगरपालिकाले आधारभूत तहमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरी पठनपाठन सुरु गरेको छ ।

भारतको दिल्लीमा सञ्चालन भइरहेको खुसी पाठ्यक्रम नेपालका विद्यालयमा पनि लागू गर्ने कार्य प्रारम्भ गर्ने मध्यविन्दु पहिलो नगरपालिका बनेको हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार दिएको छ । सोहीअनुसार स्थानीय पाठ्यक्रमकै रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरिएको मेयर भीमलाल अधिकारीले जानकारी दिए ।

२०८१ साउनदेखि कक्षा १ देखि ८ सम्म लागू गरिएको सो पाठ्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकमा व्यवहारिक र सकारात्मक प्रभाव परेको उनले बताए । मानव मूल्य मान्यता, व्यवहार, प्रकृति, संस्कार, संस्कृति, आनीबानी आदिलाई समेटेर पाठ्यक्रम तयार पारिएको छ ।

नगरपालिकाभित्र सामुदायिक र निजी गरी ६५ वटा विद्यालयमा पहिलो घण्टीमा हरेक दिन ३० मिनेट सो विषयको पठनपाठन हुने गरेको छ । गण्डकी प्रदेश सरकारले पनि सो पाठ्यक्रमलाई मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा समेटेको छ । २०८१ भदौको पहिलो साता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाठ्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

दिल्ली भ्रमणको क्रममा सो पाठ्यक्रमबाट प्रभावित भई लागू गरिएको मेयर अधिकारीले जनाए । पाठ्यक्रम निर्माण गर्नुअघि शिक्षकसहित नगरपालिकाका जनप्रतिनिधिको टोलीले दिल्लीका विद्यालयहरूको अवलोकन भ्रमणसमेत गरेको थियो । शिक्षकसहित विज्ञहरूसँग विभिन्न चरणमा छलफल र अध्ययनपछि पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ ।

मध्यविन्दुले सो पाठ्यक्रम लागू गरेपछि कास्की, स्याङ्जालगायत जिल्लाका स्थानीय तहहरूले पनि ‘हाम्रो खुसी पाठ्यक्रम’प्रति चासो देखाएका छन् । असल, सजग, नैतिकवान र इमानदार नागरिक तयार पार्ने उद्देश्यले सो पाठ्यक्रम लागू गरिएको मेयर अधिकारीले बताए ।

'बालबालिकालाई असल नागरिक बनाउन कक्षा १ देखि नै सिकाइने गरिएको छ । सैद्धान्तिकभन्दा व्यवहारिक रूपमा विद्यार्थीलाई खुसी हुने कला सिकाउने पाठ्यक्रम तय गरिएको हो,' उनले भने ।

विद्यार्थीका लागि भने ‘हाम्रो खुसी पाठ्यक्रम’को पाठ्यपुस्तक छैन । शिक्षकका लागि पाठ्यक्रमअनुसार हाते पुस्तक तयार पारिएको छ । विद्यालयमा सो विषय पठनपाठन गराउन स्रोत शिक्षक चयन गरिएका छन् ।

शिक्षा महाशाखाका प्रमुख उपसचिव पद्मराज आचार्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार स्थानीय पाठ्यक्रमकै रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ तय गरिएको जनाए । बालबालिकामा ज्ञान, सीप, मानव मूल्य मान्यता, बानी, व्यवहार, आचरण परिवर्तन तथा सकारात्मक सोचको विकास गर्न पाठ्यक्रमले सहयोग पुर्‍याउने उनले बताए । सो विषयको परीक्षा र मूल्याङ्कन भने नहुने व्यवस्था गरिएको छ ।

नगरपालिकाले पाठ्यक्रम कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न पाठ्यक्रम विकास तथा अनुसन्धान केन्द्रसमेत स्थापना गरेको छ । कक्षा १ देखि ८ सम्मका बालबालिकामा सकारात्मक प्रभाव परेको भन्दै कक्षा ९–१० मा पनि लागू गर्न विद्यार्थी र अभिभावकले माग गरेका छन् भन्ने ‘हाम्रो खुसी पाठ्यक्रम’ कार्यक्रम संयोजक लक्ष्मी पाण्डेले बताइन् ।

यसअघि नगरपालिकाले ‘हाम्रो मध्यविन्दु’ स्थानीय पाठ्यक्रम लागू गरे पनि त्यसको पूरकका रूपमा ‘हाम्रो खुसी’ पाठ्यक्रम लागू गरिएको जनाइएको छ । देशभरका स्थानीय तहहरूले आफू अनुकूल स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्दै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully