काठमाडौं विश्वविद्यालयका ११२९ विद्यार्थी दीक्षित

जेष्ठ ३०, २०८२

ज्योती श्रेष्ठ

1129 students of Kathmandu University Dixit

काठमाडौँ — काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १,१२९ जना विद्यार्थी दीक्षित भएका छन्  । शुक्रबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित दीक्षान्त समारोहमा उनीहरूलाई उपाधि प्रदान गरिएको हो ।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्वर्ण पदक प्रदान गरेका थिए । दीक्षित तथा स्वर्ण पदक प्राप्त गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै उनले विश्वविद्यालयबाट प्राप्त शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरे । ‘विश्वविद्यालयमा प्राप्त शिक्षाको सही सदुपयोग गर्नुहोस्, नवप्रवर्तनको क्षेत्रमा उपयोग गर्नुहोस्,’ उनले भने, ‘देश र समाजका लागि सदैव सकारात्मक काम गर्नुहोस् ।’

विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षाको पनि आवश्यकता रहेको उनले बताए । ‘विश्वविद्यालयमा आर्जन गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने समय आएको छ,’ उनले भने, ‘यहाँसम्मको अध्ययनपछि अब आफ्नै व्यवहारबाट धेरै कुरा सिक्दै जानुपर्छ ।’ व्यक्तिलाई उसको शैक्षिक योग्यताले मात्र होइन, व्यवहारले चिनाउने भएकाले सफलताको आधार पनि व्यवहार नै हुने उनको भनाइ थियो । त्यसैले व्यवहारिकता र व्यवहारिक शिक्षा अत्यावश्यक भएको उनले उल्लेख गरे ।

काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा. अच्युत वाग्लेले नेपालको उच्च शिक्षामा केयूले पुर्‍याउँदै आएको योगदानको राज्यले अझैसम्म समुचित मूल्याङ्कन नगरेको गुनासो गरे । उनका अनुसार, केयूले प्रत्येक वर्ष हजारौं प्रतिभालाई विदेश पलायनबाट रोक्दै अनुसन्धान र नवप्रवर्तनको संस्कार विकास गर्दै आएको छ । तर ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन, केयूलाई ‘राष्ट्रिय उत्कृष्टता केन्द्र’ बनाउने, र पूर्ण अंग्रेजी माध्यमको अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्ने जस्ता योजनामा राज्यको अपेक्षित स्रोत र सहयोग प्राप्त हुन सकेको छैन ।

उपकुलपति वाग्लेले पूर्ण संस्थागत तयारी र पटक–पटकको अनुरोध हुँदाहुँदै पनि राज्यको ध्यान नपुगेको उल्लेख गर्दै उच्च शिक्षालाई प्राथमिकता दिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि, अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी. कारले आजको जटिल समाजमा केवल प्राविधिक दक्षता पर्याप्त नरही, करुणा र संवेदनशीलता बोकेको नेतृत्व अपरिहार्य भएको बताए ।

उनका अनुसार, नेतृत्व भनेको केवल निर्णय लिने प्रक्रिया होइन, मानवताको सम्मान, व्यक्तिगत अनुभवको बुझाइ, र सेवा गर्दा गहिरो सहानुभूति प्रकट गर्नु पनि हो । दोस्रो चरणको दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न ६ स्कुलबाट १,१२९ जना विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये महिला ५५४ र पुरुष ५७५ जना रहेको विश्वविद्यालयले जनाएको छ ।

दीक्षित विद्यार्थीमध्ये ३२ जना पीएचडी, डीएम र एमसीएच तहका, ६९ जना एमफिल, ५१३ जना स्नातकोत्तर, ४ जना पीजीडी र ५११ जना स्नातक तहका छन् । जसमध्ये भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका गरी ११८ जना अन्तर्राष्ट्रिय विद्यार्थी दीक्षित भएका हुन् ।

कहाँ कति दीक्षित ?

स्कुल अफ आर्ट्स-१६३

स्कुल अफ एजुकेसन-१०२

स्कुल अफ इन्जिनियरिङ- ६८

स्कुल अफ मेनेजमेन्ट-११०

स्कुल अफ मेडिकल साइन्सेज- ६६१

स्कुल अफ साइन्स-२५

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully