त्रिविमा तोडफोड गर्ने विद्यार्थी नेताहरूविरुद्ध जाहेरी दर्ता

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

A complaint has been registered against the student leaders who vandalized the university

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति सचिवालयमा तोडफोड गर्ने विद्यार्थी नेताहरूविरुद्ध जाहेरी दर्ता भएको छ। विश्वविद्यालयमा मर्यादाविपरीत कार्य गर्नेहरूविरुद्ध प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो।

गत साता २०-२५ जनाको समूहले विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा प्रवेश गरी सचिवालयमा तोडफोड गर्ने, हानी नोक्सानी पुर्‍याउने कार्य गरेको र केन्द्रीय पदाधिकारीहरूलाई भौतिक रुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या जस्ता कार्य भएको थियो। यस्ता कार्य गर्नेहरूलाई राजनीतिक आडमा उन्मुक्ति दिने गरिएको भन्दै विरोध हुँदै आएको छ।

उक्त गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही र भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक प्रक्रिया अगाडि बढाइएको त्रिभुवन विश्वविद्यालय रजिष्टारको कार्यालयले जनाएको छ। 

त्रिविले सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न पटक पटक गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई आग्रह गरे पनि संलग्नलाई उन्मुक्ति दिने गरिएको हो ।  यसपटक भने जाहेरी दर्ता भइसकेको भन्दै त्यस्तो गतिविधिमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै पक्षसँग विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ। 

कान्तिपुर

Link copied successfully