काठमाडौँ — सरकारले चिकित्सा शास्त्रलगायत इजिन्यिरिङ, सूचना प्रविधि र नर्सिङमा भर्ना हुने विद्यार्थीको सिट संख्या वृद्धि गर्ने जनाएको छ । बिहीबार संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यी क्षेत्रमा विद्यार्थीको सिट संख्या बढाइने बताएका हुन् ।
‘चिकित्सा, इन्जिनियरिङ, नर्सिङ, सूचना प्रविधिलगायतका विषयमा जनशक्ति अभाव हुन नदिन विद्यमान मापदण्ड पुनरावलकोन गरी अध्ययन कोटा वृद्धि गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने । उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुधारअनुसार मेडिकल शिक्षामा प्रदान गरिँदै आएको छात्रवृत्तिलाई गरिब जेहेन्दार, अति दुर्गम क्षेत्रका विद्यार्थी लक्षित बनाइने बजेटमा उल्लेख छ ।
बर्दिबास, बुटवल, सुर्खेत, डडेलधुरामा निर्माणधीन र प्रस्तावित मेडिकल कलेजको पूर्वाधार अघि बढाउन ५६ करोड विनियोजन गरिएको छ । मदन भण्डारी प्राविधिक, योगमाया आयुर्वेदिक विश्वविद्यालयको र पूर्वाधार निर्माण गरिने र सहिद दशरशचन्द्र चिकित्सा विश्वविद्यालय सञ्चालन गरिने सरकारले घोषणा गरेको छ ।
