शिक्षामा निजी क्षेत्रलाई नियमन गर्ने हो, बन्देज गर्नुहुँदैन : शिक्षामन्त्री पन्त

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

The private sector in education should be regulated, not banned: Education Minister Pant

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालयदेखि उच्च शिक्षासम्म निजी क्षेत्रले लगानी गर्न पाउने वातावरण हुनुपर्ने बताए। उनले खुला समाजमा शिक्षामा लगानी गर्न पाउने व्यवस्था पनि खुला हुनुपर्ने जनाए।

नेपाली कांग्रेसको शिक्षा विभागले सोमबार काठमाडौँमा आयोजना गरेको उच्च शिक्षाका आयाम विषयक नीति बहसमा उनले निजी लगानीमा सञ्चालित शिक्षण संस्थालाई नियमन गर्दै लगानी गर्ने व्यवस्था भने खुला नै राख्नु पर्ने बताए।

अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही रहेको शिक्षामन्त्री पन्तको भनाई थियो । ‘विद्यालयदेखि उच्च शिक्षासम्म निजी लगानी खुला गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई नियमन गदै लगानी गर्ने वातावरण बनाउनुपर्छ।’

नेपाली युवा विद्यार्थीलाई स्वदेशमै कसरी टिकाउने भन्ने अहिलेको मुख्य चुनौती रहेको उनले बताए । विश्वस्तरमा प्रतिस्पर्धी विद्यार्थी तयार पार्न शिक्षण संस्थाले ध्यान दिनुपर्ने उनले जनाए । विदेशी विश्वविद्यालयसँग सहकार्य गरेर नेपालमै उच्चशिक्षाका कार्यक्रम सञ्चालन गर्ने विषयमा सुझाव दिन उनले प्राज्ञहरूलाई आग्रह गरे ।

उनले विश्वविद्यालयमा आफूले हस्तक्षेप नगर्ने भन्दै प्राज्ञिक स्वायत्तता कायम राखिने प्रतिबद्धता समेत जनाए । ‘म शिक्षा क्षेत्रका विषयमा मन्त्री भएर आएपछि बुझ्दै छु ।, यस्तै गर्नु पर्छ भन्ने कुनै योजना बनाई सकेको छैन । अध्ययनका क्रममा नै छु,’ मन्त्री पन्तले भने, ‘म विश्वविद्यालयमा हस्तक्षेप चाहिँ गर्दिन ।, प्राज्ञिक स्वायत्तता हुनुपर्छ भन्ने पक्षमा छु ।’

विश्वविद्यालय बनाउन र सुधार गर्न उपकुलपति लगायत पदाधिकारीले ध्यान दिनुपर्ने उनले जनाए । विश्वविद्यालयमा सरकारले नियमन भने गर्ने उनले बताए । ‘पश्चिममा विश्वविद्यालय खोलेर पूर्वमा सम्बन्धन बाँड्ने काम चाहिँ गर्नु हुदैंन,’ शिक्षामन्त्री पन्तले भने ।

उनले मुलुकका लागि कम्तीमा १०/१५ वर्षका लागि काम लाग्ने खालेको शिक्षा नीति आवश्यक रहेको उनले औँल्याए । ‘अहिलेको शिक्षा नीति, ऐन नियमसँग बाझिएको छ ।, कांग्रेस, एमाले, माओवादी र अन्य पार्टीमा शिक्षा विभाग बसेर कस्तो शिक्षा नीति बनाउनुपर्छ ।, साझा धारणा बनाएर सुझाव दिनुस्,’ उनले भने ।

कान्तिपुर

Link copied successfully