काठमाडौँ — नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा ऐन कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेको छ।
नेविसंघले शिक्षा क्षेत्रका समस्याप्रति संवेदनशील भएर समाधानको प्रष्ट योजनासहित कुल बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
सोमबार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो। अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको नेविसंघले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रूपमा लागू हुनेगरी आवश्यक विनियोजन गर्न समेत माग गरेको छ।
महँगी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरूको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तुहरूमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
त्यस्तै, नेविसंघले वैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० वर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
