विद्यार्थी भर्ना हुन नआएपछि बन्द भए विद्यालय 

जेष्ठ ७, २०८२

घनश्याम खड्का

The school was closed after the students did not come to enroll

म्याग्दी — विद्यार्थी भर्ना हुनै नआएपछि बेनी नगरपालिका अन्तर्गतका दुई वटा आधारभुत विद्यालय बन्द भएका छन्। बेनी नगरपालिका-५ गाजने स्थित जगन्थान आधारभुत विद्यालय र वडा नं. १० स्थित ओखले आधारभुत विद्यालय विद्यार्थी शुन्य भएपछि बन्द भएका हुन्।

विद्यार्थी शुन्य भएपछि यी विद्यालय बन्द गरिएको बेनी नगरपालिकाले जनाएको छ। यी विद्यालयमा गत शैक्षिक सत्रमा पनि कक्षा १–३ सम्म विद्यार्थी शुन्य भएपछि घटुवा गरी बालकक्षा मात्र संञ्चालनमा ल्याइएको थियो ।

यस वर्ष पूर्व आधारभुत तह बाल कक्षामा पनि कुनै विद्यार्थी भर्ना नभएपछि पूर्णरुपमा विद्यालय बन्द भएका हुन्। ‘जिल्लाको जन्मदर ऋणात्मक छ । त्यसमाथि अलिअलि आम्दानी हुनेहरु सहर झर्नक्रम बढेपछि गाउँका विद्यालय बन्द हुने क्रममा छन्। यो वर्ष दुई वटा बन्दै गर्‍यौं, अर्को वर्ष कति बन्द गर्नु पर्ने हो,’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘विगत १०–१५ वर्षको अभिलेख हेर्ने हो भने जन्मदर ऋणात्मक हुँदा त्यसको प्रत्यक्ष र पहिलो प्रभाव विद्यालयमा पर्न थालेको छ । विस्तारै कृषी, उद्योग र समग्र देशको जनशक्तिमा पर्ने देखिन्छ ।’

नगरपालिकाले विद्यालय बन्द भएपछि जगन्नाथ आविका शिक्षक तथा सहयोगीलाई छिमेकी डिम्ब आधारभुत विद्यालयमा र ओखले आविका शिक्षक कर्मचारीलाई दिपक माविमा गाभेको छ । विद्यालय बन्द भएपछि सुविधायुक्त भवन, इन्टरनेट, खानेपानी, शौचालयमा गरिएको लगानी समेत खेर गएको छ । 

विद्यार्थी संख्या घटेपछि शैक्षिक सत्र ०७९ मा ११ वटा विद्यालय, ०८० मा सात वटा विद्यालयलाई तह समायोजन (घटुवा गरिएको थियो । नगरप्रमुख केसीका अनुसार गाउँका विद्यालय बन्द हुनेक्रम सुरु भएसँगै सदरमुकामका विद्यालयमा पनि पछिल्ला दशकदेखि लगातार विद्यार्थी संख्या घट्दै गएको छ। यहाँका उच्च शिक्षा अध्यापन गराउने क्याम्पसहरुमा समेत विद्यार्थी अभाव देखिन थालेको छ । 

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully