काठमाडौँ — प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा नेविसंघको असन्तुष्ट पक्षले तोडफोड गरेको छ । क्याम्पसको स्ववियु सर्वसम्मत रूपमा चयन भएकोमा असन्तुष्टि जनाउँदै नेविसंघको असन्तुष्ट समूहले क्याम्पस प्रमुख पद्मकुमार अधिकारीको कार्यकक्षमा समेत तोडफोड गरेको हो ।
क्याम्पसमा सर्वसम्मत रूपमा चयन भएको स्ववियुलाई नेविसंघको असन्तुष्ट समूहले नमान्ने बताउँदै आएको छ । उनीहरूले अवैधानिक तरिकाले स्ववियु चयन भएको भन्दै अदालतमा रिट निवेदनसमेत दर्ता गराएका छन् ।
बुधबार निर्वाचन संयोजक महेश भट्टराईले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधिको सर्वपक्षीय बैठक बसेर स्ववियु निर्विरोध निर्वाचित भएको जानकारी दिएका थिए ।
स्ववियु अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्य पद पनि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी र स्वतन्त्र विद्यार्थी समूहलाई बाँडफाँट गरिएको छ ।
विद्यार्थी संगठनबीचको विवादको कारण गत चैत ५ गते तोकिएको स्ववियु निर्वाचन आरआरमा हुन सकेको थिएन । पाटन उच्च अदालतले निर्वाचन गराउन आदेश दिएपछि छलफल डाकिएको थियो । उक्त छलफलले सर्वसम्मत स्ववियु चयन गरेको हो ।
