विद्यालय सञ्चालन गर्न पालिकाको अनुरोध

वैशाख १६, २०८२

तृप्ति शाही

The municipality's request to operate the school

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यालय सञ्चालन गर्नका लागि अनुरोध गरेको छ । सूचना जारी गर्दै नगरपालिकाअन्तर्गतका सबै विद्यालयलाई पठनपाठन सञ्चालन गर्न भनेको छ । विद्यालय बन्दले नियमित शैक्षिक कार्यक्रमहरू प्रभावित भई बालबालिकाको पढ्न पाउने मौलिक हक र अधिकारमा प्रतिकूल प्रभाव पारेको पालिकाले जनाएको छ ।

'वैशाख १७ देखि नियमित रुपमा विद्यालयहरूमा पठनपाठन कार्य सुचारु गर्न गराउन हुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत सम्बन्ध पक्ष सबैमा आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यका लागि अनुरोध गर्दछौं,' पालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिँदै आफ्ना जायज तथा संविधानसम्मत मागहरूको सम्बोधन ससम्मान गराउन वैकल्पिक तवरले उठान गर्नका लागि पालिकाले भनेको छ ।

त्यस्तै चिङ्गाड गाउँपालिकाले पनि विद्यालय सञ्चालनका गर्नका लागि शिक्षक तथा कर्मचारीलाई भनेको  छ । २०८२ को भर्ना अधियान सकिनलाग्दा पनि भर्ना अभियान र पठनपाठन सुचारू नहुँदा विद्यार्थी तथा अभिभावकहरूमा अन्योलता देखापरेको पालिकाले जनाएको छ ।

विद्यालयमा भर्ना भई नियमित सिकाइ क्रियाकलापमा सहभागी हुन पाउने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न सम्बन्धित निकायलाई पालिकाले आग्रह गरेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully