झुट्टा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टाचार मुद्दा

वैशाख १६, २०८२

रासस

Corruption case against teacher who submitted fake teaching license

सिरहा — यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटकपटक झुट्टा कागजात पेस गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका छन् । 

आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

रासस

Link copied successfully