कालीगण्डकीमा आइतबारदेखि विद्यालय अनिवार्य संचालन गर्न निर्देशन 

वैशाख १२, २०८२

सन्तोष महतारा

Instruction to conduct compulsory schools in Kaligandaki from Sunday

गुल्मी — गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय संचालन गर्न पालिकाभित्रका विद्यालयहरूलाई आग्रह गरेको छ । शुक्रबार सबै विद्यालयलाई पत्राचार गर्दै अनिवार्य रुपमा आइतबार विद्यालय समयमा सबै शिक्षक उपस्थित हुन र नियमित पठनपाठन संचालन गर्न शिक्षकहरूलाई आग्रह गरिएको हो ।

गाउँपालिकाले उक्त समयमा अथवा यही चैत १४ गते आइतबार उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाई जान निर्देशसमेत गरेको छ । 

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले विद्यार्थी सबै बाहिर जाने अवस्था आएकोले गम्भीर कदम अगाडि बढाउनुपरेको बताए । ‘हाम्रोमा त विद्यार्थी सबै सकिन थाले बिजोग अवस्था आएको छ,’ उनले भने, ‘विद्यार्थी नै नहुने अवस्था आएकोले यो कदम चालेका हौँ ।’ उनले ८ वटा विद्यालय विद्यार्थी नभएकै कारण मर्च हुने अवस्था आएकोमा अब शिक्षकको आन्दोलनका कारण विद्यालय बन्द हुँदा १५ विद्यालय मर्च गर्नुपर्ने अवस्था आइसकेको बताए । 

गाउँपालिकाले शिक्षक महासंघको आह्वानमा शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा हुँदा पालिकाभित्रका विद्यालयमा समस्या परेको जनाएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीमा हाल ४३ सामुदायिक विद्यालय छन् । जसमा ९ माध्यमिक र ३४ आधारभूत विद्यालय छन् । प्रावि १ सय ३८, निमावि ३६, मावि ३६, उमावि अनुदान १२, प्राविधिक ८, बालविकास ४३, विद्यालय कर्मचारी ५३ र शिक्षण सहयोग अनुदान ११ गरी जम्मा ३ सय ३७ जना शिक्षक कर्मचारी कार्यरत रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिए ।

शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी धमाधम संस्थागत विद्यालयतर्फ जान थालेका छन् । ग्रामीण भेगबाट सहर जानेहरूको विद्यार्थी दर पनि बढेको पालिकाले जनाएको छ ।

सन्तोष महतारा

Link copied successfully