काठमाडौँ — यतिबेला त्रिविको उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजालाई लिएर शैक्षिक क्षेत्रमा बहस चलिरहेको छ । नतिजालाई लिएर त्रिविका अधिकारीहरुले बचाउ गरे पनि माग संख्याको तुलनामा अत्यन्तै न्यूनले नाम निकाल्नुमा त्रिविकै गुणस्तरमा प्रश्न उठेको छ ।
कारण हो त्रिविले लिएको परीक्षामा ५० प्रतिशत पनि जनशक्ति उत्तीर्ण हुन नसक्नु । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षामा ३४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विषयहरुको लिखित परीक्षामा उत्तीर्ण हुनेको संख्या निकै नै कमजोर देखिएको हो ।
त्रिविले माग गरेको कोटाभन्दा पनि न्यून मात्र पास भएका छन् । जसमा विभिन्न विषयमा माग पद संख्या १६८ रहँदा सम्मिलितको संख्या जम्मा ७६७ र उत्तीर्ण हुनेको संख्या जम्मा ५८ रहेको छ ।
त्रिविले प्रकाशन गरेको नतिजा अनुसार कम्प्युटर विज्ञानमा २० जनाको माग हुँदा परीक्षामा सम्मिलित ३८ जनामध्ये ५ जना मात्र उत्तीर्ण भएका छन् । यस्तै खाद्य प्रविधिमा पद संख्या ५ मा गरिएकोमा ५ जना सम्मिलित थिए तर एक जना मात्र उत्तीर्ण भएका छन् ।
गणितमा २० जनाको माग रहेकोमा १०४ जनाले परीक्षा दिएका थिए । तर २ जना मात्र नाम निकाल्न सफल भए । जलवायु विज्ञानमा माग संख्या २ रहेकोमा ७ जनाले परीक्षा दिएकामा १ जनाले मात्र नाम निकाल्न सकेका छन् ।
यसैगरी डाइटेटिक्स विषयमा १ जनाको माग भएकोमा सहभागी पनि १ जना नै थिए तर उनले पनि नाम निकाल्न सकेनन् । तथ्यांक शास्त्रमा १५ पदमा माग भएकोमा ३६ जना परीक्षार्थी सहभागी थिए । परीक्षा फल प्रकाशित हुँदा जम्मा २ जनाले मात्र नाम निकालेको त्रिविले जनाएको छ ।
प्राणीशास्त्रमा २० जनाको माग भएकोमा ९९ जना सहभागी थिए । जसमा ७ जनाले मात्र नाम निकालेका छन् । फुड साइन्स एण्ड न्युट्रिजनमा भने एक जनाको माग भएकोमा एक जना नै सहभागी थिए र उनले नाम निकालेका छन् ।
४ जनाको माग भएको वातावरण विज्ञान पदमा २४ जना सहभागी भएकामा ३ जना उत्तीर्ण, ४ जनाकै माग रहेको बायोकेमेष्ट्रीमा ५ जना सहभागी भएकामा उत्तीर्ण संख्या शून्य, ६ जनाको माग रहेको भूगर्भशास्त्रमा ३७ जना सहभागी भएकोमा ५ जना उत्तीर्ण, २५ जनाको माग रहेको भौतिकशास्त्रमा १७५ सहभागी रहेकामा ३ जना उत्तीर्ण, २ जनाको माग रहेको माइक्रोबायोलोजीमा २७ जना सहभागी भएकामा ४ उत्तीर्ण, २४ जनाको माग रहेको रसायनशास्त्रमा १२८ जना सहभागी भएकामा ९ जना उत्तीर्ण र १९ जनाको माग रहेको वनस्पतिशास्त्रमा ८० जना सहभागी भएकोमा १५ जनाले नाम निकालेका छन् ।
सबैभन्दा न्यून डाइटेटिक्स र बायोकेमेष्ट्री विषयमा लिखित परीक्षामा नै शून्य रहेको छ भने, खाद्य प्रविधि जलवायु विज्ञान, फुड साइन्स एन्ड न्युट्रिसनमा १/१ जना मात्र उत्तीर्ण भएका छन् ।
माग भएअनुसारको पद संख्या, परीक्षामा सम्मिलित परीक्षार्थी र उत्तीर्ण संख्या हेर्दा देशको प्रमुख शैक्षिक संस्थामै दक्ष जनशक्तिको अवस्था दयनिय भएको देखाउँछ । नेपालकै सबैभन्दा जेठो विश्वविद्यालयकै अवस्था यस्तो हुनुले देशको शिक्षा प्रणाली र परिणामबारे वास्तविकता देखाउने जानकारहरु बताउँछन् ।
के त्रिविको परीक्षा प्रणाली असाध्यै कठोर छ ?
त्रिवि सेवा आयोगका अध्यक्ष प्राध्यापक घनश्याम भट्टराई, ‘विविध कारणले पहिला परीक्षा हुन सकेको थिएन । तर, पछि परीक्षा हुने कुरा चल्दा विद्यार्थीहरु परीक्षाको लागि पढ्नतर्फभन्दा पनि परीक्षा स्थगित गर्नतर्फ लागे । जसकारण नतिजा सोचेजस्तो आउँन सकेन ।’
उत्तीर्ण प्रतिशत आधा मात्र भएकाले पनि विद्यार्थीहरुलाई परीक्षा दिन कठिन भएको आफूहरुको बुझाइ भएको भट्टराईको भनाइ छ । उनले सामान्य ज्ञानको प्रश्न धेरै आएकाले पनि सबै प्रश्नहरुलाई परीक्षार्थीले समेट्न नसेकेको बताए ।
यस विषयमा त्रिवि शिक्षा आयोगको कमजोरी रहेको बताउन नमिल्ने उनको दाबी छ । ‘हामी अब यो पाटोमा सुधारको काम गर्दैछौं । पाठ्यक्रम नयाँ बनाउने र आफ्ना कमीकमजोरीलाई सुधार गर्ने प्रयासमा हामी छौं,’ उनले भने ।
यस्तै, त्रिभुवन विश्व विद्यालयका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. श्रीराम पौडेल त्रिविले लिएको प्रध्यापक पदको परीक्षामा क्षमतावान व्यक्तिको सहभागिता नहुँदा पनि नतिजा अनपेक्षित भएको बताउँछन् ।
‘तुलनात्मक रुपमा राम्रो र क्षमतावान व्यक्ति परीक्षामा सहभागी नहुँदा थोरै व्यक्ति उत्तीर्ण भएको हुन सक्छ,’ पौडेलले भने, ‘धेरै मानिस यसमा सहभागी नहुँदा पनि कम उत्तीर्ण भएको हुनसक्छ ।’
कतिपयले नतिजाको दोष त्रिविकै परीक्षा प्रणालीमा देखेका छन् । प्रश्नपत्रको स्तर, उत्तरपुस्तिका मूल्यांकनमा त्रुटि जस्ता कारणले पनि नतिजा कमजोर भएको हुनसक्ने प्रश्न अहिले उठेको छ ।
