कक्षा १२ को परीक्षा वैशाख २१ देखि

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Class 12 exam from May 21

काठमाडौँ — शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेको छ । यही वैशाख ११ देखि हुने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । 

'१० दिनका लागि परीक्षा सरेको हो,' उनले भने, 'अहिले कै रुटिनअनुसार वैशाख २१ देखि परीक्षा सञ्चालन हुनेछ ।' मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएपछि बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए । लगत्तै बोर्डले १० दिन परीक्षा सार्ने निर्णय गरेको हो । 

कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने भनेपछि २१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षा बहिष्कार गर्दै आन्दोलनमा सहभागी हुन काठमाडौं बोलाएको थियो । 

चैत २० देखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राखेकै अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि परीक्षा अन्योलमा परेको थियो ।

कान्तिपुर

Link copied successfully