कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Class 12 Exam is held on the specified date: National Examination Board

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट सञ्चालन गर्ने समयतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

शिक्षक आन्दोलन लम्बिँदै जाँदा परीक्षा हुने/नहुने आंशका बढ्दै गरेको बेला बोर्डले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने दाबीसहित शुक्रबार विज्ञप्ति जारी गरेको हो ।

परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्नसमेत बोर्डले आग्रह गरेको छ । ‘वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामण सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

परीक्षा नियन्त्रकले जारी गरेको विज्ञप्तिमा विद्यार्थीलाई परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनसमेत अनुरोध गरिएको छ । ‘सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक, प्रधानाध्यापकहरुमा बोर्ड अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

शिक्षक आन्दोलनको कारण परीक्षा तयारीका काम भने अवरुद्ध छ । बोर्डका प्रदेश र शाखा कार्यालयहरुले केन्द्राध्यक्ष छनौट, अभिमुखीकरण लगायतका गतिविधि अघि बढाउन सकेका छैनन् । शैक्षिक हड्तालको आयोजना गरेको शिक्षक महासंघले विज्ञप्ति जारी गरेर कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully