बझाङ — बझाङको जयपृथ्वी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको यो क्याम्पसमा बुधबार बिहान ८ बजेदेखि मतदान सुरु भएर चार बजे सम्पन्न भएको थियो ।
कुल ३४५ मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा ३१३ मत खसेको मतदान अधिकृत विराट कठायतले जानकारी दिए । यो कुल मतदाताको करिब ९१ प्रतिशत हो । जयपृथ्वी क्याम्पसको स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु (समाजवादी) का छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र केहीबेरमा मतगणना सुरु हुने सहायक क्याम्पस प्रमुख लालबहादुर बोहराले बताए । उनका अनुसार बुधबार रातिसम्म मतपरिणाम सार्वजनिक गरिने छ ।
