६ महिनादेखि तलब नपाएपछि आन्दोलन गर्ने खाडाचक्रका शिक्षकको चेतावनी

चैत्र १९, २०८१

तुलाराम पाण्डे

Warning of teachers of Khadachakra protesting after not getting salary for 6 months

कालीकोट — जिल्लाको खाँडाचक्र नगरपालिकाका शिक्षकले ६ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

नगरको बेवास्ता र लापरबाहीले कात्तिकदेखि तलब नपाएको भन्दै मंगलबार शिक्षक महासंघ खाँडाचक्र नगर समितिको नेतृत्वमा शिक्षकका पेसागत संघसंगठनका प्रतिनिधिहरुले ५ दिनभित्र तलब नदिए आन्दोलन गर्ने चेतावनीसहित नगर प्रमुख कमलबहादुर शाहीलाई दुई बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सरकारले शिक्षक र विद्यालय कर्मचारीको तलब मासिकरुपमा भुक्तानी दिने राष्ट्रियस्तरमा सहमति गरे पनि नगरले पालना नगरेको उनीहरुको गुनासो छ । 

ज्ञापनपत्र शिक्षक महासंघ खाँडाचक्रका अध्यक्ष पवित्रा शाहीको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले बुझाएको हो । 'हामीले ६ महिनासम्म कसरी खर्च चलायौ होला ?,' उनले गुनासो पोखिन्, 'नगरका जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलब भत्ता खाइ हाल्ने, शिक्षकलाई मात्र पेल्ने प्रवृत्ति कहिले अन्त्य हुन्छ ?'

उनले ६ महिनासम्म विद्यालयमा जाने छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तकलगायतको अन्य खर्च पनि नजाँदा विद्यार्थी पनि मर्कामा परेको सुनाइन् । 'आन्तरिक कोष हुने केही विद्यालयले त व्यवस्थापन गरेका छन्,' उनले भनिन्, 'आन्तरिक कोष नहुने विद्यालयमा बाहिरबाट ब्याज रकम लिएर दिवा खाजा खुवाउन बाध्य छन् ।' 

Warning of teachers of Khadachakra protesting after not getting salary for 6 months

सरकारले केन्द्रमा शिक्षक महासंघसाग २०७५, ०७८ र ०८० मा भएको सहमतिअनुसार मासिकरुपमा शिक्षकले तलब भत्ता पाउने प्रावधान भए पनि खाडाचक्रले बेवास्ता गर्नु गैरजिम्मेवारीपना भएको चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले बताए । 'नगरका अरु कर्मचारीले नियमति तलब भत्ता खाने, शिक्षकलाई मात्र पेल्ने ? यो कस्तो सुशासन हो,' उनले आक्रोश पोखे । 

'खल्तीमा पैसा भए सामान पनि बार्गेनिङ गरेर सस्तोमा किन्न पाइन्थ्यो,' कालिका आविकी शिक्षक कल्पना सेजुवालले गुनासो पोखिन्, 'उधारो ल्याउन पर्दा पसलेले पनि ठग्छन् ।'

ज्ञापन पत्रमा शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक, संघीय अनुदान तथा नगर अनुदानका सबै शिक्षकको तलब भत्ता निकासा हुनुपर्ने र दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्तिलगायतका अनुदान रकम निकासा हुनुपर्ने माग उल्लेख गरिएको छ । 

नगर प्रमुख शाहीले नगरको शिक्षा युवा तथा खेलकुद शाखाले सबै विद्यालयका कागजात लेखामा बुझाउनेबित्तिकै तलब भत्ता निकासी गर्न लगाउने प्रतिबद्धता गरे । 

शाखाका बलिराज शाहीले कागजात तयार पारेर फागुन १८ गते नै लेखा शाखामा बुझाइएको दाबी गरे । तर, लेखा शाखा प्रमुख अशोक भण्डारीले सबै विद्यालयलाई इलोक्टोनिक, फन्ड टान्सफर (इएफटी) प्रणालीबाट तलब भत्ता दिने नगरको निर्णय भएकाले कागजात नपुगेकाले शिक्षकको तलब रोकिएको दाबी गरे । यहाँको स्वास्थ्य शाखाअन्तर्गतका कर्मचारीले पनि हालसम्म तलब नपाएको गुनासो गरेका छन् । 

३९ वटा विद्यालय, ६४ बाल विकास केन्द्र रहेको खाँडाचक्रमा ३ सय शिक्षक, बाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारी रहेको शिक्षा शाखाका प्रास बलिराज शाहीले जानकारी दिए । उनकाअनुसार हालसम्मको तलब भत्ता निकासा गर्न ५ करोड रकम खर्च हुन्छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully