सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिकाका कर्मचारी र शिक्षकहरुले आफ्ना बालबच्चालाई अनिवार्य रुपमा सरकारी विद्यालयमै भर्ना गर्नु पर्ने भएको छ ।
गाउँपालिकाले आव २०८१/८२ मा पारित गरेको नीति तथा कार्यक्रमअनुसार सबै प्रकारका कर्मचारी तथा शिक्षकहरुलाई आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने गरी परिपत्र गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईले आइतबार सार्वजनिक सूचना जारी गर्दै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका साथै सरकारी स्कुललाई जिम्मेवार बनाउन पनि कर्मचारीका छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्न प्रतिबन्ध गरिएको बताए ।
सरकारी कर्मचारीले नै महँगो शुल्क तिरेर बालबच्चा निजी स्कुलमा भर्ना गर्दा सामुदायिक विद्यालयप्रति आमअभिभावकको विश्वासनियता गुमेको भन्दै स्थानीय सरकार यस्तो निर्णयमा पुगेको पालिका अध्यक्ष खिलराज बस्नेतले बताए ।
‘हामीलाई कुनै पनि हालतमा सरकारी स्कुलको गुणस्तर बढाउनु छ, सबै जनताका छोराछोरीलाई नि:शुल्क गुणस्तरीय शिक्षा दिनकै लागि पनि यो निर्णयमा पुगेका हौं,’ अध्यक्ष बस्नेतले कान्तिपुरसँग भने । उनका अनुसार सबै सामुदायिक विद्यालयमा कक्षा १ मुनि व्यवस्थित किण्डर गार्डेन कक्षा संचालनमा ल्याएको छ ।
त्यस्तै कक्षा ३ सम्म सबै विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गर्न थालिएको र अर्को वर्षभित्र कक्षा ५ सम्म नै अंग्रेजी माध्यममा पठनपाठन गराइने अध्यक्ष बस्नेतले बताए । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना नगर्ने शिक्षक/कर्मचारीलाई कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।
