तुलसीपुर उपमहानगरले माविमा प्राविका शिक्षकले पढाउने प्रक्रिया अन्त्य गरेको छ : नगर प्रमुख खड्का

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Tulsipur sub-metropolis has ended the process of teaching by primary school teachers: Mayor Khadka

काठमाडौँ — तुलसीपुर उपमहानगरपालिकाले माध्यमिक विद्यालयमा प्राथमिक विद्यालयका शिक्षकले पढाउने प्रक्रिया अन्त्य गरी विषयगत शिक्षकबाटै पठनपाठन सुरु गरेको नगर प्रमुख टिकाराम खड्काले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजना गरेको 'लुम्बिनीको सामर्थ्य' कार्यक्रमको दोस्रो सत्र ‘उपमहानगरको उन्नति’ शीर्षकमा भएको छलफलमा खड्काले स्थानीय तहसँग भएको अधिकार र स्रोत-साधन प्रयोग गरेर शिक्षा क्षेत्रलाई माथि उठाउने काम गरेको बताएका हुन् ।

खड्काका अनुसार संघीय सरकारले शिक्षकको दरबन्दीमा तहगत सुनिश्चितता नगरेका कारण उपमहानगरपालिकाले आफ्नो स्रोतसाधन प्रयोग गरेर शिक्षक व्यवस्थापन गरेको हो । ‘संघले दरबन्दी उपलब्ध गराउँदैन, प्रदेशलाई पनि त्यो अधिकार छैन, यस्तो अवस्थामा आफूसँग भएका स्रोत-साधन प्रयोग विषयगत शिक्षक व्यवस्था गर्नु स्थानीय तहको बाध्यता हो,’ खड्काले भने ।

विद्यमान शिक्षा ऐनअनुसार शिक्षकको सरुवा स्थानीय तहले गर्न नमिल्ने भए पनि तुलसीपुर उपमहानगरले आफ्नो शिक्षा समितिमार्फत निर्णय गरेर शिक्षकको सरुवा गरेपछि मुद्दा परेको थियो । ‘हामीले काजमा शिक्षक सरुवा गरेका थियौँ, यो निर्णयविरुद्ध मुद्दा परे पनि उच्च अदालतले हाम्रो पक्षमा फैसला गरिसकेको छ,’ खड्काले भने, ‘शिक्षा क्षेत्रमा लामो समयदेखि यस्तै अलमल र अन्योल छ ।’  

तुलसीपुर उपमहानगरले शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा विभिन्न सुधारका काम गर्दै आएको प्रमुख खड्काले बताए । ‘मेट्रो कलेजमार्फत ८ वटा प्राविधिक विषयमा ७ सय विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ,’ उनले भने, ‘तीन सय छात्रा र विपन्न विद्यार्थीलाई मेट्रो कलेजमार्फत शिक्षाको पहुँचमा पुर्‍याएका छौँ ।’ 

स्वास्थ्य सेवामा सुधारका लागि उपमहानगरले नगर स्तरीय १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । यस अस्पतालमार्फत विपन्न नागरिकहरूलाई प्राथमिकता दिएर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको खड्काले जानकारी गराए । फोहोर व्यवस्थापनका लागि तुलसीपुरले जैविक मल उत्पादन गरेर बजारमा वितरण गर्ने अभ्यास सुरु गरेको खड्काको भनाइ छ ।

पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायलाई समेट्दै तुलसीपुर उपमहानगरपालिकाले कुमाल र थारु समुदायलाई लक्षित गरी होमस्टे सञ्चालन गरेको उनले बताए । ‘यसले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ,’ खड्काले भने।

कान्तिपुर

Link copied successfully