त्रिचन्द्र, आरआर र नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

त्रिचन्द्रमा चैत १३, आरआरमा चैत १६ र नेपाल ल क्याम्पसमा चैत १९ गते मतदान हुने

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Trichandra, RR and Nepal Law Campus are holding SWIU elections

काठमाडौँ — काठमाडौं उपत्यका ३ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिचन्द्र, रत्नराज्यलक्ष्मी आरआर र नेपाल ल क्याम्पसले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

त्रिचन्द्रमा चैत १३, आरआरमा चैत १६ र नेपाल ल क्याम्पसमा चैत १९ गते मतदान हुने क्याम्पसले जनाएका छन् । त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सुचना जारी गरेर स्थगित भएको निर्वाचनको मतदान १३ गते बिहान ८ बजेबाट हुने जनाएका छन् । त्यस्तै आरआर क्याम्पसमा निर्वाचन अधिकृत लिलाप्रसाद लिम्बुले चैत १६ गते स्ववियुको निर्वाचनअन्तर्गत मतदान हुने बताए । विद्यार्थी संगठन र उमेदवारसँगको सर्वपक्षीय बैठकपछि मतदानको मिति तोकिएको उनको भनाइ छ  ।

अनेरास्ववियुले तालाबन्दी गरेपछि अन्तिम समयमा आरआर क्याम्पसको मतदान प्रक्रिया स्थगित गरिएको थियो । त्रिचन्द्रमा नेविसंघको आन्तरिक विवादका कारण मतदान स्थगित भएको थियो । सबै दुई क्याम्पसमा उम्मेदवारी दर्ता लगायतका प्रक्रिया पूरा भएका छन् ।

उम्मेदवारी दर्तालगायतको प्रक्रिया नै सुरु हुन नसकेको ल क्याम्पसले चैत १९ गते मतदान हुने जनाएको छ । चैत १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम हुने निर्वाचत अधिकृत केशरमणि अर्यालले जनाए । चैत ५ गते निर्वाचन हुन नसकेका काठमाडौंका पद्मकन्या र अस्कल क्याम्पसमा भने मतदानपछि स्ववियु नेतृत्व चयन भएको छ । पद्मकन्यामा नेविसंघको विद्रोही स्वतन्त्र समूह र अस्कलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती, पाटन र पब्लिक युथ क्याम्पसमा भने कहिले निर्वाचन हुन्छ भन्ने टुंगो छैन ।  

कान्तिपुर

Link copied successfully