केयूको रजिस्ट्रारमा प्राध्यापक राजीव श्रेष्ठ नियुक्त

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Professor Rajeev Shrestha appointed as Registrar of KU

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू)को रजिस्ट्रारमा प्रा.डा. राजीव श्रेष्ठ नियुक्त भएका छन् । उपकुलपति अच्युत वाग्लेको सिफारिसमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई नियुक्त गरेका हुन् ।

रजिस्ट्रार श्रेष्ठले शुक्रबार पदभार समेत ग्रहण गरेको उपकुलपति वाग्लेले जनाए । श्रेष्ठ केयू स्कुल अफ मेडिकल साइन्सेजका प्राध्यापक हुन् । रजिष्ट्रारको कार्यालय ४ वर्षको हुने व्यवस्था छ  ।

केयूबाटै क्लिनिकल फार्मेसीमा स्नातक र स्नातकोत्तर गरेका श्रेष्ठले बेलायतको स्ट्राथक्लाइड विश्वविद्यालयबाट न्युरो इम्युनोलोजीमा विद्यावारिधि गरेका छन् । गत साता रजिस्ट्रार वाग्लेलाई प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्त गरेपछि उक्त पद रिक्त रहेको थियो । 

त्यस्तै केयू कार्यकारी परिषद्ले स्कुल अफ साइन्सको डिनमा प्राध्यापक वेदमणि दाहाललाई नियुक्त गरेको छ । दाहाल केयू प्राध्यापक संघका पूर्वअध्यक्ष हुन् । उनी उपकुलपतिकोसमेत प्रतिस्पर्धी थिए । पूर्वडिन जर्नादन लामिछानेको कार्यकाल फागुन ५ गते सकिएपछि स्कुल अफ साइन्सको डिन रिक्त थियो ।

कान्तिपुर

Link copied successfully