पाँचथर — पाँचथरका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । चारमध्ये एउटा क्याम्पसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ,एउटामा एमाले निकट अनेरास्ववियु र दुईवटामा माओवादीनिकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीको नेतृत्व स्थापित भएको छ ।
पाँचथर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उपेन्द्र थापा निर्वाचित भएका छन । ४ सय ८९ मतदाता रहेको यो क्याम्पसमा ३ सय ४३ ले मतदान गरेका थिए ।
मंगलबार राति सम्पन्न मतगणनाअनुसार एमालेनिकट अनेरास्ववियुकी विमला पुरीलाई हराउँदै थापाको नेतृत्वमा स्ववियुका पदाधिकारी चयन भएका हुन् । थापा १ सय ९६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद बरालले बताए । यस्तै सचिवमा सुजनकुमार तामाङ र कोषाध्यक्षमा चेतन नेपाल निर्वाचित भएका छन् ।
त्यस्तै थर्पु क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । यहाँ सुरेश माझीको नेतृत्वमा स्ववियुको नयाँ समिति चयन भएको हो । समितिको सचिवमा इच्छाङ्सा काम्वाङ र कोषाध्यक्षमा नुमा मावोसहित तीनजना सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित भएका छन् ।
त्यस्तै रवि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तीकारीकी पुनम लावतीको नेतृत्वमा स्ववियुका पदाधिकारी निर्वाचित भएका छन् । नवनिर्वाचित समितिको सचिवमा रुपा थापा र कोषाध्यक्षमा रेसु विक निवासहित तीनजना सदस्य निर्वाचित भएका हुन् । प्रत्यक्षतर्फबाट ३ जना सदस्य निर्वाचित भएका हुन् ।
यसैगरी यासोक क्याम्पसमा अखिल क्रान्तिकारीकी तारामाया लावतीको नेतृत्वमा स्ववियु पदाधिकारी निर्वाचित भएका छन् नवनिर्वाचित समितिको सचिवमा अञ्जु लावती र कोषाध्यक्षमा हिमादेवी भण्डारीसहित प्रत्यक्षतर्फबाट तीन जना सदस्य निर्वाचित भएका हुन् ।
यता सबैभन्दा धेरै मतदाता रहेको पाँचथर बहुमुखी क्याम्पसमा मतगणना जारी छ ।
