विराटनगर — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्ला भोजपुरमा सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनले सत्ता साझेदार दल कांग्रेस र एमाले निकट विद्यार्थी संगठनलाई झस्काइदिएको छ । मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उक्त क्याम्पसमा ऐतिहासिक र सनसनीपूर्ण जित दर्ज गरेको हो ।
भोजपुर बहुमुखी क्याम्पस नेपालको प्रतिष्ठित क्याम्पसमध्ये एक हो । जहाँ पूर्वराष्ट्रपति भण्डारीको शैक्षिक साइनो पनि गाँसिएको छ । भोजपुर क्याम्पसको स्ववियु इतिहासलाई फर्केर हेर्दा अधिकांश जित एमाले निकट अनेरास्ववियुको पोल्टामा पर्दै आएको थियो ।
तर, यस पटकको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको नेतृत्वले नेविसंघ र अनेरास्ववियुको साझा प्यानललाई अप्रत्यासित ढंगले पराजयको स्वाद चखाएपछि सभापति पदका विजेता अखिल क्रान्तिकारीका सोविन तामाङको चर्चा सुरु भएको छ । अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका अशोक कार्कीलाई उनले २५ मतान्तरले पराजित गरेका हुन् ।
समानुपातिक पक्षमा पनि अखिल क्रान्तिकारीले अग्रता कायम राखेको छ । ४ सय ८९ मत खसेकामा अखिल क्रान्तिकारीले एक्लै १ सय ७४ मत प्राप्त गरेको छ भने अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलले २ सय ३१ मत प्राप्त गरेको छ ।
त्यसै गरी मोरङका २ आंगिकसहित ४ क्याम्पसको मत परिणाम पनि क्रान्तिकारीकै पक्षमा देखिएको छ ।विराटनगरको डिग्री क्याम्पसमा प्रीतम साहको प्यानल निर्वाचित भयो भने नर्सिङ क्याम्पसमा रोहित ताजपुरियाले सभापतिमा बाजी मारे ।
मोरङकै कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा पनि क्रान्तिकारीका अनिश कार्की विजयी भएका छन् । यस्तै, मिक्लाजुङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीकै सुजन घिमिरेको प्यानल विजयी भयो ।
पाँचथरका चारमध्ये दुई क्याम्पसमा क्रान्तिकारी विजयी भयो । रवि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीका पुनम लावतीको नेतृत्वमा स्ववियुका पदाधिकारी निर्वाचित भएका छन् ।
याशोक क्याम्पसमा पनि अखिल क्रान्तिकारीकी तारामाया लावतीको नेतृत्वमा स्ववियु पदाधिकारी निर्वाचित भए । पाँचथर बहुमुखी क्याम्पसमा भने नेपाल विद्यार्थी संघका उपेन्द्र थापा र थर्पु क्याम्पसमा अनेरास्ववियुका सुरेश माझी नेतृत्वको प्यानल विजयी भएको छ ।
झापामा नेविसंघ र अनेरास्ववियु
झापाका १३ वटा क्याम्पसको निर्वाचनमा कांग्रेस निकट नेविसंघको दबदबा देखियो । कनकाई आदर्श क्याम्पस बिर्तामोडमा नेविसंघका किरण गुरुङको प्यानल विजयी भयो । बिर्तामोडकै इन्द्रचन्द्र क्याम्पसमा पनि नेविसंघका श्रीजित ढुंगाना नेतृत्वको प्यानल निर्वाचित भयो । त्यसैगरी, गौरादह कृषि क्याम्पसको सभापतिमा नेविसंघका स्वर्णिम अधिकारी विजयी भए । गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तुलसीराम पौडेल सभापतिमा विजयी भए ।
गरामनी क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ । जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेदवार बनेकामा ३७ जनाले मतदानमा भाग लिएका थिए । मत परिणाम अनुसार राप्रविसंका केशव खरेल सभापतिमा निर्वाचित भए भने सचिवमा सन्दीप अधिकारी र कोषाध्यक्षमा रामकृष्ण पौडेलले बाजी मारे ।
गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फबाट सभापतिमा रोशन यादव निर्वाचित भएका छन् । त्यस्तै सचिव डिल्लीराम पौडेल र कोषाध्यक्षमा मुजेफर मियाले जित हासिल गरे ।
काँकडभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुरज राई निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका एलिस पौडेल निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघकी रिया ढुंगाना निर्वाचित भइन् ।
यसैगरी चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । अनेरास्ववियुका ईश्वर रिजाल सभापतिमा निर्वाचित भए भने सचिवमा अनेरास्ववियुकै दावा तामाङ र कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित भएका छन् ।
यसैगरी शनिश्चरे बहुमुखी क्याम्पसमा सभापति नेविसंघले जितेको छ । सभापतिमा नेविसंघका विशाल थापा निर्वाचित भएका छन् । यसैगरी सीतारमेश बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक भण्डारी निर्वाचित भए ।
कनकाई बहुमुखी क्याम्पस सुरुंगाको स्ववियु सभापतिमा नेविसंघका वासुदेव निरौला निर्वाचित भएका छन् भने सचिवमा हरिप्रसाद उप्रेती र कोषाध्यक्ष पूर्णिमा पराजुली निर्वाचित भइन् ।
दमक बहुमुखी क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । अनेरास्ववियुका उम्मेदवार निशम अधिकारीलाई ५९ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेविसंघ केद्रीय समितिले बस्नेत संगठनको आधिकारिक उम्मेदवार भएको बताए पनि कांग्रेस झापाले नेविसंघका अर्का उम्मेदवार सायन साम्पाङ राई आधिकारिक भएको भन्दै राईलाई मतदान गर्न भनेको थियो ।
नेविसंघ सभापति दुजाङ शेर्पाले बस्नेत आधिकारिक उम्मेदवार भएको भन्दै दुई–दुई पटक विज्ञप्ति नै जारी गरेका थिए । तर, नेविसंघ दमक क्याम्पस इकाइ समितिले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको भन्दै बस्नेतलाई झापा कांग्रेसले आधिकारिक उम्मेदवार मानेको छैन । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियुका विशाल कार्कीसहितको प्यानल विजयी भएको हो ।
