दाङ — लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीको प्यानल विजयी भएको छ । राजनीतिक दलनिकट संगठनलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थीका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवार निर्वाचित भएका हुन् ।
सभापतिमा मिलन चौधरी ४ सय ४६ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी अखिल संयुक्तका शम्भु जिसीले २ सय ५७ मत प्राप्त गरे । जिसीलाई अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र समाजवादी पार्टीको अनेरास्ववियुको समर्थन थियो । कांग्रेसनिकट नेविसंघका राजन भुसालले २ सय ४२ मत प्राप्त गरेका छन् ।
सचिवमा अनुकुमारी यादव ३ सय ९९ मतका साथ विजयी भएकी छिन् भने कोषाध्यक्षमा आयुष्मा चौधरी ३ सय ६९ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । सदस्यहरूमा लक्ष्मीकुमारी यादव ३ सय ८९, सरिता पुन ४ सय ८, आशिका चौधरी ४ सय ५ , सुदीप चौधरी ३ सय ९९, अनिलनाथ योगी ४ सय र कामना चौधरी ३ सय ९३ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत कान्ताप्रसाद चौधरीले बताए । १ हजार ८ सय २४ मतदाता रहेकोमा ९ सय ५६ मत खसेको उनले जानकारी दिए ।
