पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

In Pokhara Nursing Campus, the panel of Aneraswaviyu won

कास्की — पोखरा नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ। अन्तिम मतपरिणामअनुसार प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन्। भण्डारीले नेविसंघकी रचना पौडेललाई १ सय ४० मतले पराजित गरिन्।

भण्डारीले २ सय ४२ र पौडेलले १ सय २ मत प्राप्त गरेको निर्वाचन अधिकृत सह-प्राध्यापक शारदा शर्माले जानकारी दिइन्। सचिवमा अनेरास्ववियुकी सलिना श्रेष्ठले नेविसंघकी स्वेता कोइरालालाई पराजित गरिन्। श्रेष्ठले २ सय ६८ र कोइरालाले ७४ मत प्राप्त गरिन्। कोषाध्यक्षमा अनेरास्ववियुकी कुसुम गौतमले २ सय ५४ मत पाइन्।

नेविसंघकी सुष्मा बरालले ९० मत ल्याइन्। यी २ उम्मेदवारबीच १ सय ६४ मतान्तर रह्यो। सदस्यमा अनेरास्ववियुकी दिपा आचार्यले २ सय ६२, कोमल रावल क्षेत्रीले २ सय ५८, अजिता घर्ती मगरले २ सय ५६, हिमानी थारू २ सय ६१, सचिना सोमैले २ सय ५८ मत प्राप्त गरे । नेविसंघकी सरस्वती खनालले ७९, मार्टिना थापा मगरले ८४, किरण सेनले ८५, कृति सिग्देलले ८१, स्मीता गौतमले ८२ मत पाए।

समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७० र नेविसंघले ७५ मत प्राप्त गरेका छन्। मतअनुसार २ संगठनले प्राप्त गर्ने सिट बुधबार दिउँसो बाँडफाँड गरिने निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्। यस क्याम्पसमा ३ सय ५२ मतदाता रहेकोमा मंगलबार भएको मतदानमा ३ सय ४७ मत खसेको थियो। 

कान्तिपुर संवाददाता

Link copied successfully