निर्वाचन समितिको कार्यालयमा ७ विद्यार्थी संगठनको तालाबन्दी
पोखरा — निर्वाचन समितिको लापर्बाहीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन अनिश्चित बनेको छ । मतपत्रमा प्रत्यक्षतर्फ अनेरास्ववियु (छैटौं)बाट अध्यक्ष पदका उम्मेदवार रहेका मिलन सुनारको नाम छुटेपछि सुरू भएको विवादले निर्वाचन अनिश्चित बनेको हो ।
निर्वाचन अधिकृतको कार्यकक्षमा मंगलबार साँझ ७ विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । यसपछि निर्वाचन समितिले निर्वाचन अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि स्थगित गरेको छ । अनेरास्ववियू, अखिल (समाजवादी), अनेरास्ववियु (छैटौं), नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियु क्रान्तिकारी (बहुमत), अनेरास्ववियु (क्रान्तिकारी वैद्य)ले क्याम्पस प्रमुख र निर्वाचन समितिको राजीनामा मागेका छन् ।
निर्वाचन समिति र क्याम्पस प्रमुख निर्वाचनको अवरोध कसरी हटाउने भन्ने विषयमा टुंगोमा पुग्न सकेका छैनन् । निर्वाचन समिति संयोजक प्रा. पोखरेलले निर्वाचनबारे बुधबार साँझसम्म एउटा निकास निस्कने बताए । ‘बिहान राजनीतिक दलसँग छलफल गर्यौं । विद्यार्थीसँग छलफल गरेपछि बेलुकासम्म एउटा निकास निस्कन्छ,’ उनले भने ।
क्याम्पस प्रमुख प्रा.हरिप्रसाद पाठकले विद्यार्थीसँग छलफल गरेर निर्वाचनको वातावरण बनाउने जिकिर गरे । बैठकमा निर्वाचन गराउने विषयमा छलफल गर्ने र थप के गर्ने भन्ने पनि बैठकपछि थाहा हुने बताए । ‘त्यो विषय (निर्वाचन समिति फेरबदल)मा विद्यार्थी संगठनसँग बैठक बसेर छलफल गर्छौं । निर्वाचन समितिले आजै बैठक बोलाउँछ,’ प्रा. पाठकले भने ।
मतदानको दिनसम्म चुनावी माहोल सकारात्मक रहेकोमा मत्रपत्रमा त्रुटि भएपछि यसपटक निर्वाचन हुने/नहुने निश्चित छैन । अध्यक्ष उम्मेदवार सुनारको नामको छेउमा चिह्न लगाउने कोष्ठक नै नभएको पाइएपछि मंगलबार मतदान सुरू हुन पाएको थिएन । निर्वाचन समितिले कोष्ठक नभए पनि प्रक्रियाअघि बढाउन अध्यक्ष उम्मेदवार सुनारलाई आग्रह गरेको थियो । उनले गम्भीर गल्ती भएको भन्दै प्रस्ताव अस्वीकार गरे । यसपछि पुनः मतपत्र प्रकाशन गरियो । निर्वाचन समितिले गल्ती भएको आत्मालोचना गरेर बुधबारका लागि चुनाव स्थगित गरेको थियो । मंगलबार राति नै अर्को सूचना निकालेर निर्वाचन समितिले चुनावी प्रक्रिया अनिश्चितकाललाई स्थगित गर्यो ।
अखिल (छैटौं)बाट अध्यक्ष पदका उम्मेदवारमिलन सुनारले वर्तमान निर्वाचन समितिप्रति विश्वास नरहेकाले चुनावी प्रक्रिया अघि बढ्न नदिइने बताए । ‘नमुना मतपत्रमा कोष्ठक छ । हामी त मुख्य मतपत्रमा पनि होला भन्ने सोच्यौं । पछि त सरहरू मलाई खोज्दै आउनुभयो । मैले हुँदैन भनेँ,’ उनले भने, ‘हाम्रो माग निर्वाचन समिति भंग गरेर नयाँ समिति बन्नुपर्छ भन्ने हो । निर्वाचन नै हुनुहुँदैन भन्ने होइन ।’
निर्वाचन अधिकृत प्रा. रामचन्द्र पोखरेलले चैत १ मा सर्वपक्षीय बैठकमा विभेदजन्य शब्द प्रयोग गरेका थिए । बैठकमा सहभागी दलित समुदायका विद्यार्थी र अन्य संगठनको आपत्तिपछि उनले उक्त दिन विज्ञप्तिमार्फत माफी नै मागेका थिए । ‘उहाँले सर्वपक्षीय बैठकमै विभेदजन्य शब्द प्रयोग गर्नुभएको थियो । निर्वाचन अधिकृतले चुनाव गर्नपर्छ भनेर माफी मागेपछि दलितले नेतृत्व गर्ने भएकाले चुनाव भाँड्न हुँदैन भनेर गइयो,’ अध्यक्ष सुनारले थपे, ‘मतपत्रमा त नियतवश् नै गरेको देखियो ।’
पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल दर्ता भएका छन् । प्रत्यक्षतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु (छैटौँ), प्राज्ञिक विद्यार्थी परिषद नेपाल, नेपाल विद्यार्थी संघ, संयुक्त प्यानल, अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा छन् । स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अनेरास्ववियु (छैटौँ)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।
समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् । ०६५ पछि यो क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।
३ क्याम्पसमा मतदान
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका पोखराका ५ मध्ये ३ वटा क्याम्पसमा मंगलबार स्ववियुको मतदान भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस), वन विज्ञान अध्ययन संस्थान (पोखरा क्याम्पस) र पोखरा नर्सिङ क्याम्पसमा निर्वाचन भएको हो ।
वन क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलै निर्वाचित भएको छ । उक्त क्याम्पसमा अनेरास्ववियुका अभिषेक शर्मा अध्यक्ष निर्वाचित भएका छन् । सचिवमा क्रान्तिकारीका गौरव खड्का र कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ निर्वाचित भए । सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारी, सिद्धान्त खनाल, अखिल (क्रान्तिकारी)की रिया श्रेष्ठ, प्रकट ढुंगाना र भिभोर शाह विजयी भए ।
नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारीको प्यानल विजयी भएको छ । सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भए । सदस्यमा अनेरास्ववियुकी दिपा आचार्य, कोमल रावल क्षेत्री, अजिता घर्ती मगर, हिमानी थारू, सचिना सोमै विजयी भए ।
इन्जिनियरिङ क्याम्पसको मतगणना जारी छ । मंगलबारको मतदानमा इन्जिनियरिङ क्याम्पसमा १ हजार ६ सय ९२, नर्सिङमा ३ सय ४७ र वन क्याम्पसमा ३ सय ८३ मत खसेको थियो । इन्जिनियरिङ क्याम्पसमा २ हजार ४१, वन क्याम्पसमा ४ सय ५० र पोखरा नर्सिङ क्याम्पसमा ३ सय ५२ मतदाता थिए ।
जनप्रिय बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन समितिले चुनाव गराउने वातावरण नरहेको भन्दै चैत ३ मा राजीनामा दिएको थियो । यस क्याम्पसमा पनि निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय अन्योल छ । बुधबार विद्यार्थी संगठनको संयुक्त बैठक आह्वान गरिएकोमा अनेरास्ववियुबाहेक अरू उपस्थित नभएपछि बैठक बस्न सकेन ।
अखिल (क्रान्तिकारी), अनेरास्ववियू र अखिल (समाजवादी)ले संयुक्त प्यानल दर्ताको माग गरेका थिए । निर्वाचन समितिले समय सकिएकाले संयुक्त प्यानल दर्ता नमिल्ने बताएपछि ३ संगठनले तालाबन्दी गरेका थिए ।
