गौरीशंकर क्याम्पसमा विवाद हुँदा मतगणना हुन सकेन

चैत्र ६, २०८१

लक्ष्मी साह

The counting of votes could not take place due to a dispute at the Gaurishankar campus

बारा — बाराको निजगढस्थित गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मतदान भएपनि मतगणना हुन सकेको छैन। चुनावमा प्रतिस्पर्धी विद्यार्थी संगठनको तर्फबाट मतगणनामा क–कसलाई मतगणना प्रतिनिधि राख्ने भन्ने विषयमा सहमति नजुटेपछि मंगलबार रातिदेखिनै मतगणना हुन नसकेको प्रमुख निर्वाचन अधिकृत गोविन्दप्रसाद अधिकारीले बताए । 

मंगलबार राति नै गणना सक्ने कार्यतालिका बनाए पनि विवादले रोकिएको उनले बताए। यहाँ मतगणनास्थलमा दलका तर्फबाट पनि प्रतिनिधि राख्ने वा विद्यार्थीमात्रै बस्ने भन्ने विषयमा विद्यार्थी संगठनहरूबीच विवाद भएको हो।

‘मंगलबार सहमतिका लागि प्रयास गरेपनि हुन सकेन,’ उनले भने, ‘अहिले फेरि छलफल भइरहेको छ।' उनकाअनुसार चुनावमा ३ सय ६८ जना मतदाता भएपनि ३ सय ३३ जनाले मतदान गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस जिल्लाका सात वटा सामुदायिक क्याम्पसमध्ये एक वटा गौरीशंकर क्याम्पसमा स्ववियु चुनाव पहिलोपटक भएको हो । 

यस क्याम्पसमा ३ सय ६८ विद्यार्थीमा ८० प्रतिशत छात्रा छन् । एमाले निकट अनेरास्ववियू, काँग्रेस निकट नेविसंघ र माओवादी निकटका अखिल क्रान्तिकारी संगठनले उम्मेदवारी दर्ता गराई चुनावी प्रतिस्पर्धा गरेका हुन् ।      

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully