पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सचिव र कोषाध्यक्षमा क्रान्तिकारी विजयी

चैत्र ६, २०८१

अनुप पौडेल

An independent candidate has won the presidentship of Western Engineering Campus

पोखरा — इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी)का उम्मेदवारलाई पराजित गर्दै धामी अध्यक्ष निर्वाचित भएका हुन् । 

बुधबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार धामीले निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपानेलाई २ सय ६७ मतले पराजित गरे । धामीले ७ सय १६ मत पाउँदा न्यौपानेले ४ सय ४९ मत पाए । नेविसंघका सौगात पण्डितले ३ सय ४६, अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १ सय ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपक थापाले जानकारी दिए । 

दार्चुलाका धामी नेत्रविक्रम चन्द विप्लवनिकट अखिल (समाजवादी)समर्थित उम्मेदवार हुन् । उनको पृष्ठभूमि अखिल (क्रान्तिकारी) हो । धामी क्रान्तिकारीको क्याम्पस कमिटी सचिव थिए । अध्यक्ष हुन नपाएपछि उनले क्रान्तिकारी छोडेर अखिल (समाजवादी)रोजेका थिए । 

सचिव र कोषाध्यक्ष अखिल (क्रान्तिकारी)ले जितेको छ । अखिल (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मत ल्याएर सचिव निर्वाचित भए । अनेरास्ववियुका विनायक भुँवाजीले ७ सय ४ मत ल्याए । आन्तरिक विवादले मतपत्र च्यातिँदा सचिवमा नेविसंघको उम्मेदवारी खारेज भएको थियो । 

क्रान्तिकारीका सशीष सापकोटा ६ सय ९९ मत ल्याएर कोषाध्यक्ष निर्वाचत भए । अनेरास्ववियुका रोहितकुमार साहले ५ सय ८७, नेविसंघकी रस्मिताकुमारी झाले ३ सय ६६ मत पाएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । 

अन्तिम मतपरिणामअनुसार अनेरास्ववियुले ५, नेविसंघ र क्रान्तिकारीले १/१ सदस्य जितेका छन् । अनेरास्ववियुका अश्रान्त पहारी ९ सय २६, पूर्णिमा अछामी ८ सय १५, अंकित गैरे ७ सय ७१, अमृत बस्नेत ७ सय ४०, रूपेश पौडेल ६ सय २२, नेविसंघका सक्षम भण्डारी ७ सय ३ र क्रान्तिकारीकी निकिता पाठक ६ सय ८२ मत ल्याएर सदस्य निर्वाचित भए ।  उक्त क्याम्पसमा २ हजार ४१ मतदाता रहेकोमा मंगलबार भएको निर्वाचनमा १ हजार ६ सय ९२ मत खसेको थियो ।  

अनुप

Link copied successfully