लमजुङ — सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा मंगलबार भएको स्ववियु निर्वाचनमा नेविसंघ प्यानलै विजयी भएको छ ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को गठबन्धनलाई पराजित गर्दै नेविसंघले प्यानलै जितेको हो । ४ सय ७३ मतदाता रहेको उक्त क्याम्पसमा शतप्रतिशत मत खसेको थियो ।
नेविसंघका असिम बस्तीले अनेरास्ववियुका अनुषा परियारलाई १८ मतले पछि पार्दै स्ववियु सभापतिमा विजयी बने । नेविसंघका बस्तीले २ सय ४५ मत ल्याएका थिए भने अनेरास्ववियुकी परियारले २ सय २७ मत प्राप्त गरिन् ।
सचिवमा नेविसंघका विवेक सिंह २ सय ४१ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का कृष्टि सापकोटाले २ सय ३० मत प्राप्त गरिन् । कोषाध्यक्षमा नेविसंघका हेमनारायण रसाइली २ सय ४४ मतका साथ विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका नवीनकुमार यादवले २ सय २५ मत प्राप्त गरे ।
यसै गरी सदस्यहरूमा नेविसंघका अफजल अन्सारी, आर्ची पाठक, अवसर अधिकारी, आयुशका गौतम र विविका थापामगर विजयी भए ।
