लमजुङ — सदरमुकाम बेंसीसहरको मर्स्याङ्दी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका पूर्णबहादुर गुरुङलाई ३ मतले पछि पार्दै अनेरास्ववियुका मदनकुमार विक सभापतिमा निर्वाचित भएका हुन् ।
मंगलबार अबेर राति घोषणा गरिएको मत परिणामअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका विकले १ सय ९९ मत प्राप्त गरे भने नेविसंघका गुरुङले १ सय ९६ मत पाएका थिए । अखिल क्रान्तिकारीका आयुष सुनाले १४ मत पाए ।
निर्वाचन संयोजक अर्जुन सुयलका अनुसार कूल ५ सय ४९ मतदाता रहेको मर्स्याङ्दी क्याम्पसमा ४ सय १३ मत खसेको थियो ।
स्ववियुको सचिवमा अनेरास्ववियुका गणेश अधिकारी २ सय २४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका सन्तोष विकले १ सय ५१ मत ल्याए । अखिल क्रान्तिकारीकी पवित्रा तामाङले १८ मत पाइन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मुना गुरुङ २ सय ६ मतका साथ विजयी भइन् । प्रतिद्वन्द्वी नेविसंघकी जमुना श्रेष्ठले १ सय ९१ मत प्राप्त गरिन् ।
सदस्यमा अनेरास्ववियुका विशेष गुरुङ, ममता घिमिरे, सुदर्शन पौडेल र हेमकुमारी विक निर्वाचित भए भने नेविसंघकी वर्षा रिमाल पनि सदस्यमा विजयी भएकी छन् । ३ जनाको बराबरी १ सय ९४ मत परेकामा गोलाप्रथाबाट छानिंदा अनेरास्ववियुकी रुक्मणी वर्देवा विजयी भइन् ।
