चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

शारदानगरको सहिद स्मारक कलेजको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार विजयी

चैत्र ५, २०८१

रमेशकुमार पौडेल

An independent candidate has won the post of president of Chitwan Engineering Campus

चितवन — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार निर्वाचन भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका चितवनका दुईवटा क्याम्पसमध्ये एउटामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी अर्को क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार अध्यक्ष निर्वाचित भए । त्रिविको आंगिक क्याम्पस रामपुरको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका हुन् ।

नेविसंघ र माओवादनिकटको अखिल क्रान्तिकारीको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका प्रज्ज्वल अधिकारी चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भए । उनले अनेरास्ववियुका विशाल पोखरेललाई पराजित गरेका हुन् । १३२ मतदाता रहेको उक्त क्याम्पसमा सबै मत खसेको थियो । विजयी अधिकारीले ७८ मत ल्याउँदा पोखरेलले ५४ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्रजंग केशरी चन्दले बताए ।

An independent candidate has won the post of president of Chitwan Engineering Campus

त्यसैगरी त्रिविको सम्बन्धनप्राप्त शारदानगरको सहिद स्मारक कलेजको स्ववियु अध्यक्षमा नेविसंघका अनिष थापा मगर विजयी भएका छन् । तर उक्त कलजमा भएको मतदानप्रति भने एमाले निकटको अनेरास्ववियुले विरोध जनाएको छ । ‘हाम्रा उम्मेदवारलाई मतदानपूर्वका कुनै पनि प्रक्रियामा सामेल नगराई मतदान अगाडि बढाएकोमा हाम्रो गम्भीर आपत्ति रहेको जानकारी गराउँछौं,’ अनेरास्ववियुको कलेज समितिका अध्यक्ष राकेश गुरुङले निकालेको विज्ञप्तीमा उल्लेख छ । 

अखिलका चितवन जिल्ला अध्यक्ष हरि आचार्यले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा तत्काल विद्यार्थी संगठनसँग छलफल गरेर मतदानपूर्वका प्रक्रिया थालनी गर्न माग गरेका छन् ।

वीरेन्द्रनगरको जनआदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु गठन भएको घोषणा फागुन २७ मै भइसकेको छ । चितवनका निर्वाचन हुनुपर्ने अन्य कलेजमध्ये चारवटामा मनोनयन नै दायर भएको थिएन । ११ वटा कलेजमा विभिन्न विद्यार्थी संगठनहरूको तालाबन्दीले गर्दा मनोनयन भए पनि मंगलबार हुनु पर्ने मतदान हुन सकेन । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully