काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आचारसंहिताविपरीत कार्य गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रचलित कानुनअनुसार कारबाही गर्न शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै आचारसंहिता उल्लंघन गरे जो कसैलाई आवश्यक कारबाही गर्न सम्बन्धीत मन्त्रालय र निकायलाई समेत आग्रह गरिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा निर्वाचन गराउन र आचारसंहिता पालना गर्न सरोकारवालालाई आग्रहसमेत गरेका छन् । ‘निर्वाचनपूर्व विश्वविद्यालय र क्याम्पसहरूका सार्वजनिक संरचना तोडफोड भएको, निर्वाचन समितिका पदाधिकारीलाई विभिन्न किसिमको धम्की आइरहेको भन्ने समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानार्कषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताविपरीतका कार्यहरु कानुन बमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानुनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको छ । त्यस्ता आचारसहिंताविपरफत हुने जो कसैका गतिविधि एवं क्रियाकलाप प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायलाई अनुरोध गरिन्छ ।’
त्रिविले चैत ५ गते देशभरका निर्वाचनमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ । १५ क्याम्पसमा सत्तारुढलगायत विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गर्दै निर्वाचन समितिलाई धम्की र दबाब दिएर निर्वाचन प्रक्रियामा अवरोध गरेको गुनासो छ । शिक्षा मन्त्रलायले त्रिविले जारी गरेको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका-२०८१ पालाना गर्न पनि विद्यार्थी संगठन, मतदाता विद्यार्थीलगायत सरोकारवालाहरूलाई अपिल गरेको छ । स्वच्छ, निष्पक्षता, पारदर्शिता र भयमुक्त तरिकाले निर्वाचन सम्पन्न गर्न प्रवक्ता सापकोटाले आग्रह गरेका छन् ।
