राजनीतिक दलका कार्यालयमा शिक्षकको धर्ना

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Teachers' sit-in at political party offices

काठमाडौँ — विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरेका शिक्षकहरुले राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिन थालेका छन् ।

नेपाल शिक्षक महासंघले सत्तारुढ र प्रतिपक्षी दलका पार्टी कार्यालयमा धर्ना दिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

गत शनिबार महासंघले काठमाडौंमा प्रदर्शन गरेको थियो । बुधबार एमालेको पार्टी कार्यालय च्यासलमा महासंघले धर्ना दिएको छ । मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए । पार्टी कार्यालयहरुमा दिउँसो १ बजे देखि ३ बजेसम्म दुई घण्टा धर्ना दिएको सुवेदीले जनाए ।

दोस्रो चरणको आन्दोलन अर्न्तगत राजनीतिक दलको कार्यालयमा धर्ना थालिएको महासंघको भनाइ छ । पहिलो चरणमा स्थानीय तह, जिल्ला र प्रदेश तहमा धर्ना र काठमाडौंमा एक दिने प्रदर्शन गरिएको थियो ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक अघि नबढाए चैत दोस्रो सातापछि काठमाडौंमा अनिश्चितकालीन प्रदर्शन गर्ने महासंघले चेतावनी दिएको महासंघमा राजनीतिक दल आवद्ध शिक्षक संगठन, विद्यालय कर्मचारी संगठन लगायत १४ संघसंस्था आवद्ध छन् ।   

कान्तिपुर

Link copied successfully