काठमाडौंका ८ क्याम्पसमा स्ववियु निर्वाचनमा अवरोध

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Disruption in SWIU elections in 8 campuses of Kathmandu

काठमाडौँ — काठमाडौं उपत्यकाका ८ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अवरोध देखिएको छ ।

केही क्याम्पसमा मतदाता नामवलीको टुंगो लाग्न सकेको छैन भने केहीमा उम्मेदवारी दर्तापछि तालाबन्दी र अवरोध भएको हो । अवरोध भएका अधिकांश क्याम्पसमा सत्तारुढ कांग्रेस निकट नेविसंघको आन्तरिक किचलो प्रभाव परेको क्याम्पस निर्वाचन समितिहरुले जनाएका छन् ।

थापाथली इन्जियिरिङ, सरस्वती, पब्लिक युथ, केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, नेपाल ल र विश्वभाषा क्याम्पसमा कार्यतालिका अनुसार निर्वाचनको गतिविधि अघि बढ्न नसकेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । अवरुद्ध प्रक्रिया अघि बढाउन सहजीकरण गरिरहेको उनले जनाए ।

थापाथली इन्जिनियरिङमा बुधबार मनोनयनपछि तालाबन्दी भएको छ । सरस्वती क्याम्पसमा विवादका कारण मतदाता नामवली प्रकाशन हुन बाँकी रहेको छ । मतदाता नामवलीको टुंगो लागेपछि मात्र उम्मेदवारी दर्ता लयायतको प्रक्रिया अघि बढ्ने व्यवस्था छ । पब्लिक युथ उम्मेदवारी दर्ता हुन बाँकी छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा उम्मेदवारी दर्ता पछि अवरोध आएको छ । त्यहाँ नेविसंघको अर्को समूहले तालाबन्दी गरेको छ । सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला पक्षले आ–आफ्नो ढंगबाट उम्मेदवारी दर्ता गराएका छन् । शंकरदेव क्याम्पसमा मतदाता सूची प्रकाशन हुन सकेको छैन । उम्मेदवारी दर्ताको प्रयास गरेपनि सफल हुन नसकेको निर्वाचन समितिले जनाएको छ । पद्यकन्यामा बिहीबार मनोनयनको प्रयास जारी रहेको छ । नेपाल ल क्याम्पसमा संगठन दर्ता हुन सकेको छैन । विश्वभाषा क्याम्पसमा मतदाता नामवलीको विषयमा समस्या छ ।

निर्वाचन समितिका सदस्यहरुले २०७९ सालमा निर्वाचन भएका क्याम्पसहरुमा वर्तमान स्ववियु पदाधिकारीले नै निर्वाचन प्रक्रियामा अवरोध गरेको गुनासो समेत गरेका छन् । निर्वाचन नभए स्ववियुको कार्यकाल ६ महिनासम्म थप गर्न सकिने व्यवस्था छ । सोही कारण वर्तमान स्ववियु पदाधिकारीले निर्वाचन गर्न नचाहेको आरोप लाग्दै आएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully