महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर आगजनी प्रयास

नेविसंघका दुई गुटबीच आधिकारिकताको विवाद

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Attempted arson at Mahendra Morang campus due to SWIU elections

विराटनगर — महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनको विषयलाई लिएर नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताले निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई निर्वाचन समितिको कार्यालयभित्र थुनेर आगजनी प्रयास गरेका छन् ।

बुधबार मध्याह्न कोइराला समूहका विद्यार्थी नेताले अधिकारीलाई कोठामा थुनेर बाहिरबाट तालाबन्दी गरी आगजनी प्रयास गरेका थिए । केहीबेरपछि प्रहरीको टोलीले ताला फोरेर अधिकारीको सकुशल उद्धार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा नेविसंघका केन्द्रीय सदस्य योगराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई मोरङ जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि कांग्रेस निकट नेविसंघका दुई गुटबीच आधिकारिकताको विवाद चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले अलग–अलग उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले केन्द्रको निर्देशनअनुसार देउवा पक्षको समूहलाई आधिकारिक मान्दा कोइराला पक्ष असन्तुष्ट भएको हो । स्ववियु निर्वाचनको विवादले यसअघि पनि हिंसात्मक रूप लिइसकेको छ । 

गत फागुन १५ गते नेविसंघको संस्थापन गुटले शेखर समूहका विद्यार्थी नेतालाई हातहतियारसहित आक्रमण गरेको थियो । क्याम्पस स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी लगायतले नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई बञ्चरो प्रयोग गरी आक्रमण गरेको घटनामा गुड्डु साह, पूजा विश्वास, प्रशान्त यादव, सुविक्षा थापा मगर लगायत घाइते भएका थिए ।

क्याम्पसका विद्यार्थीका अनुसार कांग्रेसका दुई नेता पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति नागेश कोइरालाबीच मतभेद रहेका कारण विद्यार्थी नेताहरूबीचको विवाद झन् चर्किएको हो ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन तोकेको छ । विद्यार्थी संगठनबीचको बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । ५ हजार ५ सय मतदाता रहेको क्याम्पसमा १९ वटा समूहले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैबीच नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले घटनाको कडा शब्दमा भर्त्सना गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष रोहित यादवले घटना ‘गैरकानुनी र निन्दनीय’ भएको भन्दै क्याम्पसमा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न माग गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully