जनप्रशासनमा क्याम्पस प्रमुख नियुक्तिका लागि सर्च कमिटी

क्याम्पसमा ५ वर्षदेखि कानुनविपरीत हरिभक्त शाही निमित्त क्याम्पस प्रमुख छन्

फाल्गुन २०, २०८१

सुदीप कैनी

Search Committee for Appointment of Campus Head in Public Administration

काठमाडौँ — जनप्रशासन क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुख नियुक्तिका लागि मंगलबार छनौट तथा सिफारिस समिति (सर्ट कमिटी) गठन गरेको छ ।

सञ्चालक समितिमा अध्यक्ष सहप्राध्यापक नरेन्द्रराज पौडेलले ३ सदस्यीय सर्च कमिटी गठन भएको जानकारी दिए । प्राध्यापक बालकृष्ण श्रेष्ठको संयोजकत्वमा प्राध्यापक सिलु प्रधानाङ्ग र अच्युत ज्ञवाली सदस्य रहेको कमिटी गठन भएको हो । 

त्रिभुवन विश्वविद्यालयको आंगिक जनप्रशासन क्याम्पसमा ९ वर्षदेखि निमित्त क्याम्पस प्रमुख हरिभक्त शाहीले मनोमानी रुपमा सञ्चालन गर्दै आएका थिए । शाही सञ्चालक समितिको पदेन सदस्यसचिव रहे पनि सञ्चालक समितिको बैठक डाक्न र सर्च कमिटी गठन गर्न अवरोध गर्दै आएका थिए । २०७७ देखि नै क्याम्पस प्रमुखको नियुक्तिका लागि सर्च कमिटी गठन गर्ने र प्रक्रिया अघि बढाउने प्रयास हुँदै आए पनि असफल बन्दै आएको थियो । पौडेलले पनि गत मंसिरदेखि सञ्चालक समितिको बैठक डाक्ने प्रयास गरे पनि ३ महिनापछि मात्र सफल भएका हुन् । 

क्याम्पस प्रमुख शाहीले अटेरी गरेपछि त्रिवि कार्यकारी परिषद्, उपकुलपति केशरजंग बराललगायत पदाधिकारी र व्यवस्थापन संकाय डिन कार्यालयले समेत बैठक डाक्न हस्तक्षेप गरेको थियो । व्यवस्थापन संकाय डिन महानन्द चालिसेको उपस्थितिमा बसेको बैठकले सर्च कमिटी गठन गरेको हो । कार्यकारी परिषद्ले बैठक बोलाउने निर्देशन अवज्ञा गरे निलम्बन गर्ने चेतावनी दिएपछि शाही तयार भएको एक पदाधिकारीले बताए । सञ्चालक समितिका अध्यक्ष पौडेलकाअनुसार कमिटीले क्याम्पस प्रमुख नियुक्तिका लागि आवेदन माग गर्नेछ । प्रतिस्पर्धाको आधारमा क्याम्पस प्रमुख नियुक्त हुनेछन् । स्वायत्तता प्राप्त क्याम्पस सञ्चालनसम्बन्धी मापदण्ड बमोजिम आवेदन दिने मध्ये योग्यता, जेष्ठताको आधारमा ५ जनालाई सर्टलिस्ट गरिनेछ । सर्टलिस्टमा परेकासँग अन्तर्वार्ता लिएर उत्कृष्ट ३ जनाको नाम सञ्चालक समितिमा सिफारिस हुनेछ । 

सञ्चालक समितिले नियुक्तिका लागि कार्यकारी परिषद्मा पठाउने र उपकुलपतिले अध्यक्षता गर्ने कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्ति गर्ने व्यवस्था मापदण्डमा छ । क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ । चैत ५ गतेलाई स्ववियु निर्वाचन घोषणा भएर आचारसंहिता लागू भएकाले सञ्चालक समितिले क्याम्पस प्रमुख छनौट र सिफारिस सम्बन्धी काम भने चैत ६ गतेपछि मात्रै थाल्ने छ ।

त्रिविका तत्कालीन उपकुलपति तीर्थराज खनियाँले शाहीलाई २०७३ कात्तिक ७ मा क्याम्पस प्रमुखमा नियुक्त गरेका थिए । सबैभन्दा कनिस्टबाट राजनीतिक भागबन्डाका आधारमा शाही नियुक्त भएको भन्दै क्याम्पसकै प्राध्यापकले त्यतिबेला प्रश्न उठाएका थिए । त्रिवि कानुनअनुसार उनको कार्यकाल २०७७ कात्तिक ७ मै पूरा भयो । तर तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाले अर्को व्यवस्था नभएसम्म भन्दै निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिए । त्रिवि नियममा क्याम्पस प्रमुखलगायत पदाधिकारीको पद रिक्त रहे बढीमा ३ महिनासम्मका लागि निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । शाहीले भने नयाँ क्याम्पस प्रमुख नियुक्तिमा अवरोध गर्न अनेक तिकडम गर्दै कार्यकाल ५ वर्ष लम्ब्याएको जनप्रशासन क्याम्पसका अध्यापकहरू बताउँछन् ।

क्याम्पस प्रमुख पदमा शाही गैरकानुनी रूपमा बहाल रहिरहेको विषयमा प्राध्यापक, कर्मचारी र विद्यार्थीले त्रिवि, शिक्षा मन्त्रालय, उपकुलपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रसम्म पटकपटक उजुरी दिएका थिए । शाहीले छोरा युनिटलाई परीक्षामा सहभागी गराएर परीक्षाको आचारसंहिता विपरित कार्य गर्दै आएको प्राध्यापकहरुको गुनासो छ । अवैध रुपमा क्याम्पस प्रमुख पदमा टिकिराख्न उनले कांग्रेस, एमाले र माओवादीका नेताका आफन्तलाई करार र ज्यालादारीमा नियुक्ति दिएको समेत खुलेको छ । क्याम्पसले कर्मचारी पदपूर्तिका लागि परीक्षा सञ्चालन गरेपनि नतिजा सार्वजनिक नगरि ८ जना नातागोतालाई जागिर दिएका हुन् ।

क्याम्पस प्रमुख २०६३ सालमा नेविसंघको तर्फबाट सोहि क्याम्पसको स्ववियु अध्यक्ष समेत निर्वाचित भएका थिए । राजनीतिक पहुँचको आधारमा अवैध रुपमा उनी क्याम्पस प्रमुख पदमा टिकि राखेको आरोप छ । शाहीले भने सञ्चालक समिति र सर्च कमिटिले काम गर्न नसक्दा क्याम्पस प्रमुख चयन र नियुक्ति हुन नसकेको बताउँदै आएका छन् ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully