पदपूर्ति रोकेर जनप्रशासन क्याम्पसमा आफन्त र पहुँचवालालाई नियुक्ति

कांग्रेस, एमाले र माओवादी निकट नेताका श्रीमती, बहिनी, भतिजीलगायत आफन्तलाई करार र ज्यालादारीमा नियुक्ति

फाल्गुन २०, २०८१

सुदीप कैनी

Appointment of relatives and relatives in the public administration campus by stopping the recruitment

काठमाडौँ — जनप्रशासन क्याम्पसका प्रमुख हरिभक्त शाहीले पदमा टिकिराख्न राजनीतिक दलका पहुँचवाला नेता, कार्यकर्ताका आफन्तलाई क्याम्पसमा नियुक्ति दिएको पाइएको छ । प्रतिस्पर्धाका आधारमा कर्मचारी पदपूर्ति गर्ने प्रक्रिया रोकेर उनले कांग्रेस, एमाले र माओवादी निकट नेताका श्रीमती, बहिनी, भतिजीलगायत आफन्तलाई करार र ज्यालादारीमा नियुक्ति दिएका हुन् । 

शाही ५ वर्षदेखि अवैध रूपमा क्याम्पस प्रमुख छन् । उनको कार्यकाल २०७७ सालमै सकिए पनि त्रिभुवन विश्वविद्यालयले शाहीलाई हटाउन र अर्को क्याम्पस प्रमुख नियुक्ति गर्न सकेको छैन । आफ्नो पद सुरक्षित गर्न उनले क्याम्पससँग स्वार्थ मिल्ने व्यक्तिका नातागोतालाई क्याम्पसमा करार र ज्यालादारीमा नियुक्त गरेको जनप्रशासनका एक अध्यापकले आरोप लगाए । २०७५ सालमा कर्मचारी नियुक्तिका लागि सञ्चालित परीक्षाको नतिजा भने अहिलेसम्म सार्वजनिक भएको छैन । ‘पदपूर्ति समितिले विज्ञापन गरेर परीक्षा सञ्चालन गर्‍यो,’ ती अध्यापकले भने, ‘अहिलेसम्म नतिजा प्रकाशन गरिएको छैन । कर्मचारी अभाव देखाउँदै पहुँचवाला नेता–कार्यकर्ताका आफन्तको भर्ती केन्द्र बनाइएको छ ।’

शाहीले भर्ना गरेकाहरू

क्याम्पसका एक कर्मचारीले दिएको विवरणअनुसार शाहीले २०७७ यता कांग्रेस डडेलधुराका नेता वीरेन्द्र थापाकी श्रीमती गोदावरी थापा, नेविसंघ पूर्वनेता तथा पूर्वस्ववियु अध्यक्ष पंकज क्षेत्रीकी भतिजी रीतिका क्षेत्री, एमाले अनेरास्ववियुका काठमाडौं इन्चार्ज धर्मराज तिमिल्सिनाकी बहिनी सिर्जना तिमिल्सिना, माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका पूर्वनेता धर्म सिंहकी श्रीमती कमला शाहलाई क्याम्पसमा नियुक्त गरेका छन् । त्यस्तै उनले भतिजा भूपेन्द्र शाही, आफन्त विकास बुढा, छोरा न्युटन शाही र साथीका छोरा सिद्धार्थ कोइरालालाई पनि क्याम्पसमा करार र ज्यालादारीमा जागिर दिएका छन् । उनले आफूखुसी नियुक्त गरेका अर्का एक नातेदारले भने जागिर छाडिसकेका छन् ।

कांग्रेस, एमाले र माओवादी सबैलाई मिलाएर क्याम्पस चलाउनुपर्छ, त्यसैले सबै पक्षलाई जागिरमा राखेको हुँ, विश्वविद्यालयले आवश्यक कर्मचारी पठायो भने करारमा नियुक्त भएकाहरूलाई भोलि नै हटाइदिन्छु : हरिभक्त शाही, प्रमुख,  जनप्रशासन क्याम्पस 

क्याम्पसमा पर्याप्त जनशक्ति नहुँदा सबै पक्षलाई मिलाएर नियुक्ति दिएको प्रमुख शाहीले बताए । ‘कांग्रेस, एमाले र माओवादी सबैलाई मिलाएर क्याम्पस चलाउनुपर्छ । त्यसैले सबै पक्षलाई जागिरमा राखेको हुँ,’ उनले भने, ‘विश्वविद्यालयले आवश्यक कर्मचारी पठायो भने करारमा नियुक्त भएकाहरूलाई भोलि नै हटाइदिन्छु ।’ नेविसंघ र अनेरास्ववियुका विद्यार्थीले २०७५ सालमा कर्मचारी पदपूर्तिका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न अवरोध गरेकाले करारमा कर्मचारी राख्नु परेको उनको भनाइ छ । ‘क्याम्पस चलाउन सक्ने अरू कोही देखिएको छैन । सबै पार्टीका मान्छेलाई मिलाएर मैले चलाइराखेको छु । सबैभन्दा सिनियर सहप्राध्यापक पनि म नै हो,’ उनले भने ।

क्याम्पसले प्राध्यापक श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा पदपूर्ति समिति गठन गरेर आर्थिक वर्ष २०७५/७६ मा नायब सुब्बा र खरिदार तहको विज्ञापन गरेको थियो । ३५ जनाभन्दा बढीले आवेदन दिए । परीक्षासमेत सञ्चालन भयो । तर हालसम्म नतिजा सार्वजनिक नभएको एक प्रतिस्पर्धीले गुनासो गरिन् । ‘शुल्क तिरेर आवेदन दियौं । परीक्षा पनि भयो । तर ६ वर्षसम्म नतिजा आएको छैन,’ उनले भनिन् । 

नेविसंघ र अनेरास्ववियुका विद्यार्थीले नतिजा सार्वजनिक गर्न अवरोध गरेपछि उनीहरूले नै सिफारिस गरेका व्यक्तिलाई नियुक्ति दिएको क्याम्पस प्रमुख शाहीले बताए । ‘एउटा पार्टीको मात्र नियुक्ति गर्‍यो भने विरोध हुन्छ । त्यसैले सबै पार्टीका मान्छेलाई ठाउँ दिएको छु,’ उनले भने । अनेरास्ववियु काठमाडौं इन्चार्ज धर्मराज तिमिल्सिनाले क्याम्पस प्रमुखले आफू निकट व्यक्तिलाई मानोमानी नियुक्त गर्न थालेपछि आफूहरूले पनि नाम दिएको स्विकारे । तिमिल्सिना सोही क्याम्पसका पूर्वविद्यार्थी र अनेस्ववियुका पूर्वइकाई अध्यक्षसमेत हुन् । ‘क्याम्पस प्रमुखले गरेको मानोमानी रोक्न दबाब दिएका थियौं,’ उनले भने, ‘सबैको मान्छे राखेर सामसुम पारें ।’ 

कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता वीरेन्द्र थापाकी श्रीमती गोदावरीलाई क्याम्पस प्रमुखले करारमा सुब्बास्तरको नियुक्ति दिएको प्राध्यापक, कर्मचारी र विद्यार्थीको समेत आरोप छ । उनी शाहीको सचिवालयकी कर्मचारी हुन् । जनप्रशासन क्याम्पसकै पूर्वस्ववियु सभापति पंकज क्षेत्रीकी भतिजी रीतिका क्याम्पसको पुस्तकालयमा कार्यरत छिन् । ‘इन्टर्न गर्ने भनेर क्याम्पसमा ल्याइएको थियो,’ एक उपप्राध्यापकले भने, ‘अहिले ज्यालादारीमा मासिक तलब बुझ्छिन् ।’

२०७६ मा जनप्रशासन विभागको प्रमुख हुँदा नै शाहीले माओवादी कार्यकर्ता धर्म सिंहकी श्रीमती कमला शाहलाई विभागमा करारमा नियुक्त गरेका थिए । क्याम्पस प्रमुखको जिम्मेवारीमा रहँदा नै उनी नियमविपरीत करिब ९ महिना विभागीय प्रमुखको समेत दोहोरो जिम्मेवारीमा थिए । उनले भतिज भूपेन्द्रलाई संवेदनशील र गोप्य परीक्षा शाखाको जिम्मेवारी दिएका छन् । उनी पनि करारमा नियुक्त भएका हुन् । 

परीक्षा शाखामा सुब्बास्तरकी गायत्री श्रेष्ठ प्रमुख रहे पनि सबै काम क्याम्पस प्रमुखको निर्देशनमा भूपेन्द्रले गर्ने गरेका अध्यापकहरू बताउँछन् । शाहीकै छोरा न्युटन परीक्षामा गार्ड बस्ने गरेका छन् । आफन्त पर्ने विकास बुढालाई ज्यालादारीमा नियुक्त गरी घरको समेत काम लगाउने गरिएको कर्मचारीहरूको भनाइ छ । ‘विकासले तलब क्याम्पसबाट लिन्छन । तर क्याम्पस प्रमुखको घरको काम पनि उनले गर्नुपर्छ,’ क्याम्पसका एक कर्मचारीले भने । साथीका छोरा सिद्धार्थ कोइरालालाई समेत उनले आफूखुसी नियुक्त दिई क्याम्पसबाट तलबसुविधा उपलब्ध गराउँदै आएको क्याम्पस स्रोतले जनाएको छ ।

क्याम्पस प्रमुख शाहीले सञ्चालक समितिको बैठक नबोलाई ९ वर्षदेखि ऐन, नियमविपरीत एकछत्र पदमा टिकिराखेको विषय समाधान गर्न त्रिविका कार्यकारी परिषद्ले समेत हस्तक्षेप गर्न सकेको छैन । उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजालले व्यवस्थापन संकायका डिन महानन्द चालिसेलाई सञ्चालक समितिको बैठक डाक्न समन्वय गर्न निर्देशन दिए पनि सकारात्मक जवाफ नआएको कार्यकारी परिषद्का एक सदस्यले बताए । चालिसेलाई शुक्रबारसम्म समय दिइएको थियो ।

 क्याम्पस प्रमुखले अटेरी गरे कार्यकारी परिषद्ले हस्तक्षेप गर्न सक्ने र ३ महिनाका लागि निमित्त क्याम्पस प्रमुख खटाएर क्याम्पस प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने प्रावधान छ । सहप्राध्यापक नरेन्द्रराज पौडेलको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति गठन भएको छ । त्यसको सदस्यसचिव क्याम्पस प्रमुख रहने व्यवस्था छ । सञ्चालक समितिको सिफारिसका आधारमा कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्त गर्ने नियम छ । तर ५ वर्षदेखि सदस्य सचिवसमेत रहेका शाहीले सञ्चालक समितिको बैठक नै नबोलाई एकलौटी रूपमा क्याम्पस चलाउँदै आएका छन् ।

काठमाडौं महानगरपालिकाले वडा ३२ को कोटेश्वर महादेवस्थान मन्दिर परिसरमा उत्खनन भइरहेको १८औं शताब्दीको ढुंगेधारा । महादेवस्थान परिसरमा सामुदायिक भवन बनाउने क्रममा स्थानीयले त्यहाँ ढुंगेधारा थियो भनेपछि उत्खनन गर्दा भेटिएको महानगरकी सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईको भनाइ छ । 

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully